प्रदेश २ का स्थानीय तहले गर्न थाले ‘लकडाउन’
- २०७७ श्रावाण १३ मङ्गलबार
१३ श्रावण २०७७
हाईस्पीड संवाददाता जनकपुरधाम ।
लकडाउन हटाए पनि कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीका चार वटा स्थानीय तहले आफ्नो क्षेत्रभित्रका अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।
लकडाउनको घोषणा सदरमुकाम राजविराज नगरपालिकाले गरेको छ भने यहाँ स्थानीय प्रशासनले पनि निषेधाज्ञा जारी गरेको छ । गत साउन ७ गतेदेखि नै राजविराजका अति आवश्यकबाहेकका सेवा बन्द छ । संक्रमित बढ्दै गएपछि मंगलबारदेखि थप २ वटा स्थानीय तहले अनिश्चितकालका लागि अति आवश्यकबाहेकका सेवा बन्द गरेको छ । राजगढ र अग्निसाइर कृष्णासावरण गाउँपालिकाले मंगलबारदेखि आफ्नो क्षेत्रमा लकडाउन गरेको छ ।मेयर योगेन्द्रप्रसाद चौधरीले शम्भुनाथ नगरपालिकाले बुधबारदेखि अनिश्चितकालका लागि अति आवश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको बताए । समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउनका लागि आवश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादवले बताए । यस्तै, धनुषाको शहीद नगर नगरपालिकाको समेत अति आवश्यकबाहेकका कामकाज बन्द गरिएको मेयर उदय बरबरियाले जानकारी दिए । यो नगरपालिकामा एक साताका लागि अति आवश्यकबाहेकका कामकाज स्थगित गरिएको छ । यी स्थानीय तहमा सार्वजनिक स्थानमा भीडभाड नगर्न, गोष्ठी कार्यक्रम नगर्न, व्यापार, व्यवसाय बन्द गर्न, हाटबजार नलगाउन आग्रह गरिएको छ ।
सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र निस्किनु नै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा जरुरी काम भए सामाजिक दूरी कायम गरेर गर्नसमेत आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया