तनहुँ जलविद्यु्त्को केवल टनेलको ‘ब्रेक थु्रु’ भयो
- २०७७ भाद्र ६ शनिवार
६ भाद्र २०७७
रासस
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भयो । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो ।
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिए । “केवल टनेलको ब्रेक थु्रु भएको छ, अब विद्युत गृह निर्माणको काम शुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भने । भण्डारीका अनुसार कोभिड–१९ का कारण शुरुआती चरणमा केही समयका लागि काममा असर परे पनि हाल निरन्तर काम भइरहेको छ । केवल टनेलबाट विद्युत् गृहमा तारहरु लगिनेछ । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता भएको थियो ।
तपाईको प्रतिक्रिया