प्रदेश सभाबाट दुई विधेयक पारित
- २०७७ असोज २६ सोमबार
२६ असोज २०७७
रासस
आजको बैठकले प्रदेश सभाको विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । बैठकले प्रदेश पदक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गर्नुभएको प्रदेश पदक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गर्नुभएको प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई सभाले सर्वसम्मतिबाट पारित गरेको हो । यसैगरी प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक–२०७७ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक–२०७६ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरे।
कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको प्रदेश सभाको बैठक आइतबारदेखि सुचारु भएको हो । मङ्गलबार दिउँसो एक बजे प्रदेश सभाको अर्को बैठक बस्नेछ ।
तपाईको प्रतिक्रिया