चैतयता १० लाख चालक अनुमतिपत्र छापिए
- २०७७ कातिर्क ७ शुक्रबार
७ कार्तिक २०७७
रासस
गत चैतदेखि अहिलेसम्म यातायात व्यवस्था विभागले झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।
विगतमा झण्डै आठ-नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले पहिले वर्षौंसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको बताए । उनका अनुसार पछिल्लो तीन-चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइ सकिएको उनले बताए । उनले भने, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।”निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताए । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ ।आवेदन दिएको तीन-चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उनले जानकारी दिए । उनले भने, “पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन ।” सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो ।
गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर विभागले सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो ।
तपाईको प्रतिक्रिया