प्रदेश १ मा फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता, मृत्यु भए परिवारलाई २५ लाख दिने निर्णय
- २०७८ बैशाख २२ बुधबार
२२ बैशाख २०७८
हाईस्पीड संवाददाता विराटनगर
कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय प्रदेश १ सरकारले गरेको छ ।
यसअघि संघीय सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना महामारीमा खटिएका फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ राहत दिने निर्णय पनि भएको छ ।प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको उनले बताइन् ।बैठकले फ्रन्टलाइनरलाई संक्रमण पुष्टि भए उपचार खर्च व्योहोर्ने निर्णय गरेको छ । कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिनमा राख्ने पनि निर्णय गरेको छ ।
उनले क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने पनि निर्णय भएको बताइन् ।
तपाईको प्रतिक्रिया