आजदेखि प्रदेश १ को बजेट अधिवेशन, ३३ अर्बको बजेट ल्याउने सरकारको तयारी
- २०७८ जेठ २४ सोमबार
२४ जेठ २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
सोमबारदेखि प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) शुरु हुँदैछ।
सोमबार दिनको दुई बजे सुरु हुने अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७८–०७९को बजेट ३३ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक सरकारले प्रि–बजेट छलफल छोटो अवधिमै पाँच दिनमा सक्ने गरी अध्यादेश ल्याएको छ। प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेखित १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्थालाई संसोधन गरी पाँच दिनमा सिमित गरिएको छ। जसका कारण प्रि–बजेटमाथिको छलफलको समय छोटिएको छ ।कोरोना महामारी कारण देखाउँदै अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरूको तीव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको थियो ।यसअघि वैशाख ५ मा प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो । अधिवेशनका आठ वटा बैठकमध्ये मुख्यमन्त्री शेरधन राई अन्तिम बैठकमा मात्रै संसद्मा सहभागी बन्नुभएको थियो ।प्रदेशका विपक्षी दलहरुले सरकारले अध्यादेश मार्फत प्रि–बजेटमाथिको छलफल छोट्याएको भन्दै आपत्ति जनाउदै आएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सामान्य संसदीय मूल्य मान्यतामा प्रि–बजेट छलफलमा सरकारले बजेटको सिद्धान्त र प्राथमिकता पेश प्रचलन गर्ने प्रचलनलाई छोट्याएकाले पर्याप्तमात्रामा नीति तथा कार्यक्रममाथिको समय अपर्याप्त रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया