पर्साका विभिन्न स्थानमा भारी वर्षाले डुबान र कटान
- २०७८ असार १६ बुधबार
१६ असार २०७८
हाईस्पीड संवाददाता वीरगञ्ज ।
गएरातिको भारी वर्षाले पर्साका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षाको पानीको निकास नहुँदा जिल्लाका विभिन्न स्थानमा घरखेत डुबानमा पर्नुका साथै नदीले जमिन कटान समेत गरेको छ ।
पर्साको जिराभवानी गाउँपालिका–१ पिपरामा स्थानीयवासीका दर्जनौं घर डुबानमा परेका छन् । वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय राजकुमार दास, किसुन महतो, खिचडी महतो, ब्रहमदेव, दास, सनोज दास, शिव शंकर दास, जंगली राय र महेन्द्र शर्मा लगायत १६ जनाको फुसको घर भत्किएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवट्टीको टोलीले स्थानीयको मालसामान ट्याक्टरमा लोड गरेर सुरक्षित स्थानमा सारेका छन् ।सामाजिक अभियन्ता प्रकाश थारुले उनीहरुका लागि राहत सहयोग आवश्यक देखिएको बताए ।यसैगरी वीरगञ्ज महानगरपालिका–३० को कठाहा नदीमा आएको बाढीले धानखेतीमा क्षति पुर्याएको छ । पाक्न शुरु गरेको चैते धानमा बाढीको पानी पसेर क्षति पुगेको स्थानीयले बताएका छन् । कठाहा नदीमा बनाएको माटोको बाँध नदीमा आएको बाढीले बगाएपछि पानी खेततिर पसेको हो ।बाढीले डुबान र कटान गर्दा जिल्लामा सबैभन्दा बढी ठोरी गाउँपालिका प्रभावित भएको छ । ठोरी–३ को ब्रम्हानगर र नयाँबस्तीमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घर डुबानमा परेको वडाध्यक्ष सूर्यबहादुर लामाले जानकारी दिए ।हुलाकी सडक र सडकको किनारको नाला अग्लो भएका कारण सहजै पानीको निकास नहुँदा प्रायःजसो घरमा पानी पसेको लामाले बताए । ठोरीकै वडा नम्बर ४ को निर्मलबस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, विजयबस्ती, विशालचोक, ट्यांग्रेलाइन लगायतका स्थानमा अधिकांश घर डुबानमा परेका छन् ।
लगातारको वर्षापछि ओरिया खोलामा आएको बाढीले ठोरीको गोपीबस्तीमा हुलाकी सडकमा क्षति पुर्याएको छ ।
तपाईको प्रतिक्रिया