छुरा प्रहारबाट एक युवकको हत्या
- २०७८ श्रावाण ११ सोमबार
११ श्रावन २०७८
हाईस्पीड संवाददाता मोरङ
मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएकोमा आज दिउँसो उनीमाथि छुरा प्रहार भएको थियो ।दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याइएको थियो । तर झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए ।प्रहरीका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन् । छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् ।छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डीएसपी श्रेष्ठको भनाइ छ । अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनामा संलग्न भएको आशङ्कामा १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न अरू युवाहरू फरार रहेका कारण खोजी भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार झगडा भएको खुलेको छ । विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका अभिषेकमाथि छुरा हानेका थिए ।
उनले घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया