गोर्खे पोखरा मणिपालको विषयमा नबुझी कुर्लिरहेछ
- २०७८ भाद्र १४ सोमबार
१४ भाद्र २०७८ ,
एन के शरद ,काठमाण्डौ
हाल नेपालमा एक विषय चर्चामा छ त्यो हो मणिपाल हस्पिटल एक पक्षले अर्को पक्षलाई बेच्न मिल्छ कि मिल्दैन भन्ने । छापाहरुमा एक अर्कालाई दोषारोपण गर्ने र लज्जित बनाउने खालका कामहरु भइरहेका छन् । मणिपाल हस्पिटल एक प्राइभेट कम्पनी हो जो सरकारी जग्गा भाडामा लिएर सञ्चालन भएको छ । एक पक्षले अर्को पक्षलाई एउटा प्राइभेट कम्पनी बेच्न मिल्छ । कुरा रह्यो सरकारी जग्गा जो लिजमा लिइएको हो । लिजको समय अवधिसम्म सरकारले भाडा पाउने कुरा भयो । चाहे त्यो श्याम बहादुरबाट पाओस् वा राम बहादुरबाट सरकारले भाडा पाउने कुरा हो त्यो पाउनु पर्छ । जुन व्यापारीले किने पनि जंगी अड्डाले लिजमा समयसीमा राखेर दिएको कारण जमीन जंगी अड्डाको हो उसैको रहन्छ । समयसीमासम्म जंगी अड्डाले भाडा पाउने मात्र हो । समयसीमा कटेपछि नयाँ सम्झौता गर्ने नगर्ने भन्ने मात्र जमीनवालाले सोच्ने कुरा भयो ।
जस्तो एउटा उदाहरण दिउँ कुनै सरकारी महल एकजना ठेकेदारले ५० वर्षको लागि लिजमा लियो । महलभित्र ठेकेदारले सबै पसल आफ्नै खोल्ने कुरा हुँदैन । त्यसमा भाडामा पसल राख्न चाहने धेरै मानिसहरु हुन्छन्, ठेकेदारले आफूले चाहेको र विश्वास मानेको मन्छेलाई भाडामा दिन्छ । करारको समय राखेर मोलतोल गरेर ठेकेदारले आफूलाई फाइदा हुनेगरी नै भाडामा लगाउने हो । त्यसमा आम मान्छेले रिस डाहा र इष्र्या गर्ने कुरा आउँदैन । त्यो मल त्यसैगरी चलिरहन्छ । सरकारले जमीन र मलको भाडा समयसीमासम्म पाइरहन्छ । पाउनुपर्छ । यदि ठेकेदारले मलबाट मनग्गे आम्दानी गर्न नसकेको खण्डमा अर्को पक्षलाई मल बेचिदिन्छ अर्थात् अर्को पार्टीलाई मल चलाउने करार दिन्छ । सरकारको सम्झौता अवधिसम्म मल चलाउने जिम्मेवारी अर्को पार्टीले सम्हाल्छ । समयसीमा सकिएपछि सरकारले नयाँ करार नगरे अर्को पक्षले सरकारलाई मल जिम्मा लगाउँछ । सरकारले थप समय थपिदिई करार सम्झौता गरेको खण्डमा दोस्रो पार्टीले फेरि नयाँ समयसीमा पाउँछ । दोस्रो पार्टीले समय थप भएपछि अर्को पार्टीलाई बेचिदिन पनि सक्छ । त्यो सरकारी जमीन र मल बेचेको नभई समय अवधि बेचेको हो । यत्ति सरल कुरा हो ।
मणिपाल हस्पिटलको सन्दर्भमा कुरा गरौं, सुरुमा मणिपाल कलेज भारतीय व्यापारीले जंगी अड्डासँग जमीन लिजमा लिएर कलेज बनायो । सम्झौता अनुसार नै भारतीय व्यापारी पक्षले मणिपाल हस्पिटल चलाए । त्यसपछि भारतीय व्यापारीले मणिपाल हस्पिटल नेपाली व्यापारी समूह बापो होल्डिङ्सलाई बेच्न लागेपछि यो विषय चर्चामा आएको हो । मणिपाल बेच्ने भनेको जमीन बेच्ने होइन अघि मलको उदाहरणमा मैले सम्झाए जस्तै सरकारसँग सम्झौता गरिएको समयसीमा बेच्ने हो । जसमा पहिले जुनरुपमा सम्झौता भएको छ त्यो त्यसरी नै चल्नेगरी समयसीमा अर्को पार्टीले किन्ने हो । यसमा अझै खुशी मान्नुपर्ने कुरा केछ भने मणिपालले कमाएको जुन पैसा छ अब त्यो भारत जाँदैन । नेपालमा नै रहन्छ । सरकारले जुन लिजबापतको रकम छ त्यो नेपालीपक्षबाट पाउँछ र नेपाली व्यापारीले मणिपाल किन्दा नेपालको पैसा बाहिरिन जोगिन्छ । अहिले मणिपाल किन्न लागेको मेरो मतलब मणिपालले पाएको समयसीमा किन्न लागेको व्यापारिक समूह नेपाली हो । मणिपालको जमीन र हस्पिटलको भवन किन्ने भनेको होइन । सरकारले यसमा टाउको दुखाउने ठाउँ नै छैन र दुखाएको पनि छैन । सम्झौता अवधिभर सरकारले मणिपाल एउटा पक्षले चलाए पनि दुई पक्षले चलाए पनि वा चार वा पाँच पक्षले चलाए पनि हस्तक्षेप गर्दैन । किनभने सरकारले जमीनको समय बेचेको हो जमीन बेचेको होइन । बापो होल्डिङ्स नामको संस्थाले पनि जमीन किनेको होइन । जमीनको कागजात जंगी अड्डासँग छ । समय सकिएपछि नयाँ करार दिने या नदिने जंगी अड्डाले निर्णय गर्ने कुरा हो ।
सरकारी जमीन न भारतीय पक्षले किनेको छ नत बापो होल्डिङ्सले नै किनेको छ । जमीन त जंगी अड्डासँग नै छ । जंगी अड्डाले समयसीमासम्म भाडा पाउने कुरा हो । जस्तो अघि मैले मलको उदाहरणबाट सम्झाएँ । पोखरा लगायत स्थानमा केही सञ्चार माध्यम र सामाजिक अभियन्ताहरुले अहिले उचालेको जस्तो विषय नै योे होइन ।
सरकारी सम्झौताअनुसार जंगी अड्डाले ४९ वर्षको अवधि समाप्त भएपछि उसको जमीन र त्यहाँ बनेका भौतिक संरचना फिर्ता पाउँछ । त्यतिबेला रक्षा मन्त्रालय र जंगी अड्डाले बापो होल्डिङ्सलाई अब हामी हस्पिटल चलाउने अनुमति दिँदैनौं वा हस्पिटल भनौं वा सेनाको भाषमा जमीन अब हामी आफैं उपभोग गर्छौं अथवा हामीले नयाँ पार्टीलाई जमीन दिन चाहान्छौं वा सरकारलाई हस्तान्तरण गर्छौ अथवा सरकारी हस्पिटलको रुपमा प्रयोगमा ल्याउँछौं जेसुकै भन्न पाउँछ । कुनै समूहले समयसीमा अर्कोलाई बेच्दा सेना वा रक्षा मन्त्रालयले रुवावासी गर्दैन । गरेको छैन पनि । उसले जमीनबापत सम्झौताको समयमा जुन भाडा मागेको छ त्यो नपाएमा अवाज उठाउँछ । यस विषयको अन्य चिजमा रक्षा वा जंगी अड्डाले आवाज उठाउँदैन । भाडा नपाएको खण्डमा मात्र उसले बोल्ने हो ।
अहिले मणिपालको समयसीमा किन्न लागेको समूह बापो होल्डिङ्स नेपाली व्यापारिक समूह भएकोले सामाजिक अभियन्ता र छापाका केही पत्रकारले के बुझ्न जरुरी छ भने नेपालीहरुले मणिपालमा उपचार गरी जुन पैसा खर्च गरिरहेका थिए त्यो विदेशी कम्पनीले लगिराखेको थियो । अबचाँहि नेपाली समूहले त्यसमा लगानी गर्ने र फाइदा पनि नेपालमा नै बस्नेमा खुशी हुने समय हो । नेपालको पैसा नेपालमा नै लगानी हुने र नेपालीले नै त्यसको उपभोग पनि गर्ने हुँदा नेपालीले दुखी हुनु बेकार हो । हुन त छिमेकीको ठूलो घर देखेर डाहा गर्ने नेपाली बानी नै हो । सबैभन्दा मिल्ने साथीले धेरै आम्दानी गरेको देख्दा हामी नेपाली जाति दुखी हुन्छौं । साथीले धेरै प्रगति गर्यो भने त्यसमा सरिक हुन हामी सक्दैनौं मनमनै कुँडिन्छौं । विदेशी कम्पनीले कमाएको पैसा विदेश लैजाँदा हामीलाई अपसोच हुँदैन । तर, नेपालीले नै नेपालमा धन कमाउने, नेपालीलाई नै रोजगार दिने, नेपालमै लगानी गर्ने कुरामा हामी चित्त दुखाउँछौं । हाम्रो नानीदेखिकै बानी यस्तै हो । हामी यस्तै त हो नि ब्रो भनेजस्तो कुरै नबुझी नाचिदिने हाम्रो गोर्खे बानी देख्दा पनि अचम्म लाग्छ |
तपाईको प्रतिक्रिया