चितवनमा ५ तारिखदेखि जलपंक्षी गणना सुरु गरिने
- २०७८ पौष १८ आइतबार
१८ पुस २०७८
रासस
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपंक्षी गणना गरिने भएको छ ।
नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपंक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपंक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका ताल तलैयामा गणना थालिएको भए पनि अन्य क्षेत्रमा क्रमशः गणना गर्न लागिएको हो । वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार चितवनमा ५ तारिखदेखि जलपंक्षी गणना गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिने छ । चौधरीका अनुसार लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म पहिलो दिन गणना गरिनेछ । त्यसैगरी ६ तारिखमा विषहजारी ताल र आसपासका तालम गणना गरिने छ । छुटपुटका ठाउँमा ७ तारिखमा गणना गरिने छ ।यस्तै पश्चिम चितवनमा ७ तारिखमा चरा गणना गरिंदै छ । नेपाल चराविज्ञ सङ्घका प्रतिनिधि हठन चौधरीका अनुसार राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ । वर्ड एजुकेसन सोसाइटीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा गणना गर्न लागिएको हो । सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले बाइनाकुलर क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिने बताए । गतवर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन १९८७ बाट चरा गणना थालिएको हो । गणनाको नेतृत्व गर्दै आएका पक्षी विशेषज्ञ डा.हेमसागर बराल चराको सङ्ख्या, अवस्था, सिमसारको अवस्था, चराले भोग्नु परेका बाधा व्यवधानलगायतका अध्ययन यसै क्रममा गरिने बताए । चराका बासस्थानमा माछा मार्ने, ताल तलैया फुटाएर सिँचाइ गर्ने, चोरी शिकार गर्ने, डुङ्गा चलाउने जस्ता समस्या देखिने भएकाले तिनीहरुको अवस्था बुझ्न गणना महत्वपूर्ण हुने उनको भनाइ छ ।देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन गणना उपयोगी हुने गर्दछ । उनका अनुसार अगष्टको अन्तिम साताबाट जाडो छल्न जलपंक्षी नेपाल आउन थाल्छन् । अक्टोबरको अन्तिम साता ठूलो सङ्ख्यामा चरा आउने र डिसेम्बरसम्म आइरहन्छन् । मार्चबाट फर्कन सुरु गर्ने उनले जानकारी दिए । नेपालमा जलपंक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए ।नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने गर्दछ ।
चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ ।
तपाईको प्रतिक्रिया