लोकदोहोरी गायिका सुनारको हत्या आरोपित प्रेमी पुर्पक्षको लागि कारागार चलान
- २०७९ श्रावाण ९ सोमबार
९ श्रावन २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
गायिका दिलमाया सुनारकी प्रेमी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको छ । गत असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया सुनार मृत फेला परेकी छन् ।
उनी आफ्नै खाटमा मृत फेला परेकी थिइन् । तर उनको घाँटीमा निल दाम देखिएको थियो ।तर राति १स्२० मिनेटमा उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो । जसमा आत्महत्या गर्न लागेको उल्लेख गरिएको थियो । त्यो स्टाटस देखेपछि उनले आत्महत्या गरेको हो कि भन्ने प्रश्न उठेको थियो । तर घटनास्थलमा मोबाइल फोन नहुनु र कोठा खुल्लै हुनाले घटना शंकास्पद देखियो । त्यसपछि प्रहरीले उनीसँगै बस्दै आएका प्रेमी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठमाथि अनुसन्धान थाल्यो । उनीहरूले घरबेटीलाई आफूहरू श्रीमान-श्रीमती हो भनेर चिनाएका थिए ।उनले आफू घटना हुनु अगाडि नै घरबाट निस्केको बताएका थिए । सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए । अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ । साढे ४ बजे मात्र उनी घरबाट बाहिरिन्छन् । प्रहरीको अनुसन्धानबाट उनीहरू विगत सातरआठ महिनादेखि त्यहाँ बसिरहेको खुल्यो । उनैले मध्यरातमा हत्या गरी ४ बजे भागेको प्रहरीले जनाएको छ ।त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । यता सुनारकी बुवाले उनीविरूद्ध प्रहरी वृत्त बालाजुमा कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएका थिए । यस्तै उनले घटनामा प्रयोग भएको सल पनि फ्याँकेको खुल्यो । सल महाराजगन्जस्थित कतार भीसा सेन्टर नजिकैको सडक किनारमा रहेको झाडीमा फेला परेको थियो । तर घटनास्थलबाट हराएको सुनारको फोन भने अझै फेला परेको छैन । प्रहरीले यस घटनामा अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पठाएको थियो ।
त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आइतबार उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो ।
तपाईको प्रतिक्रिया