प्रधानन्यायाधीशको अवस्था बुझ्न मानवअधिकार टोली जबरा निवासमा
- २०७९ असोज २ आइतबार

२ असोज २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव डा.टीकाराम पोखरेलको नेतृत्वमा अनुगमनका लागि सर्वोच्च अदालत र जबराको निवासमा टोली पुगेको हो । आयोगकी सदस्य लिली थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि उनले बताएकी छन् ।
१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।
त्यसलगत्तै उनको निवासमा सुरक्षा सतर्कता बढाइएको छ ।
तपाईको प्रतिक्रिया