असफलता तर्फ नेपालको अर्थ राजनीति l
- २०८० माघ १० बुधबार
१० माघ २०८०
कल्याण बिक्रम आचार्य – काठमाण्डौ
अर्थराजनीति भन्ने बिषय सुन्दा जती सजिलो लाग्छ ,बुझ्न त्यती नै जटिल बिषय हो । सामान्य रुपमा अर्थ राजनीतिले राजनीति र अर्थतन्त्रबिचको सम्बन्धलाई अध्ययन गर्दछ ।अर्थशास्त्र ,राजनीतिशास्त्र र समाजशास्त्रबाट कोणबाट अर्थराजनीतिलाई हेर्न सकिन्छ । सरकार , सरकारको वित्त तथा आर्थिक निती र यसले जनजीवनमा पार्ने असर पनि अर्थराजनितिको चस्माबाट हेर्ने गरिन्छ । सरकारका आय-व्यय, करका दायराहरु ,आर्थिक वृद्धि र विकास पनि यसै अन्तर्गत पर्दछन । कौटिल्यको अर्थशास्त्रनै अर्थ राजनीतिको बिषयमा पहिलो कृति हो भन्दा फरक नपर्ला । आचार्य चाणक्यद्वारा लिखित उक्त कृतिमा एउटा प्रभावशाली शासन कस्तो हुनुपर्छ , राजा , मन्त्री र कर्मचारीहरुको आचरण कस्तो हुनुपर्छ देखी लिएर भ्रस्टाचार रहित समाज र सुशासनको बारेमा चर्चा गरिएको छ । चाणक्यका अनुसार शासन, राजनीति र आर्थिक उन्नतिलाई जनताको हितसंग जोडिनुपर्दछ ।
नेपालको संविधान २०७२ले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख भनिएतापनी त्यो संविधानको पानामामात्र सिमित रहेको छ । नेपाल अहिले क्रोनी क्यापिटालिजम को दलदलमा फसेको पाईन्छ । राज्यको उपल्लो निकायमा बसेकाहरुनै राज्यबिरुद्धको अपराधमा संलग्न भएको हामीले पटकपटक सुन्दै र देख्दै आएका छौँ । पछील्लो पटक नक्कली शरणार्थी काण्डमा पुर्व गृहमन्त्री लगाएतका उपल्लास्तरका नेता मुछिनुले पनि यो कुरा प्रस्ट पारेको छ । यी र यस्ता अवस्थाले नै नेपालको अर्थ राजनीति असफल भएको प्रमाणित गर्दछ । संघियताको कार्यन्वयन पछी नेपालको आन्तरिक तथा बाह्य ऋण २४ खर्ब पुग्न लाग्नुलेनै नेपालको अर्थराजनैतीक अवस्था चिन्ताजनक रहेको जनाउँछ । प्रदेश तहले कल्पना गरे अनुरुप डेलिभरी दिन नसकेको कुरा त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रममा भनेका छन । ” प्रदेश चलाउन ५ खर्व चाहिन्छ, आम्दानी ५ अर्व मात्रै छ”। उनको यो कुराले पनि प्रदेश तह वास्तवमै सेतो हात्तीसरह भएको प्रस्टाउँछ ।देशको असफल अर्थराजनीति एसैले देखाउँछ ।
के हो त असफल अर्थराजनीति?
असफल अर्थराजनीति भन्नाले सामान्यत: राजनैतीक तथा आर्थिक व्यवस्था विफल भएको र देशमा विभिन्न आर्थिक तथा राजनीतिक समस्याहरु उत्पन्न हुन लागेको जनाउँछ । उच्च बेरोजगारी , युवाहरुको डरलाग्डो विदेश पलायन , खस्किँदो अर्थतन्त्र , कुशासन, चरम भ्रस्टाचार , राजनीतिक तथा आर्थिक अस्थिरता जस्ता कारणहरुले नेपालको अर्थराजनीति असफल भएको देखिन्छ ।
अब नेपालको अर्थराजनीति असफल हुनुका कारणहरु क्रमैसँग छलफल गरौँ ।
१) भ्रस्टाचार
नेपाल चरम भ्रस्टाचार हुने मुलुकमा पर्दछ भन्ने कुरा ट्रान्स्पारेन्सी इन्टरन्यासनलको रिपोर्टले पनि बताएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक २०२२ (सिपिआई) अनुसार १८० देशमा नेपाल ३४ अंकको साथ ११०औ स्थानमा छ।नेपालमा भ्रस्टाचारको जालो वडा तह देखी उच्च पदस्त अधिकारीसम्म फैलिएको छ । भ्रस्टाचारलाई नेपालमा सामान्यरुपमै लिन थालीसकेको अवस्था छ ।दैनिक रुपमानै दर्जनौँ सानादेखी ठुला भ्रस्टाचारका काण्ड सुनिनुलेपनी नेपालमा भ्रस्टाचार उल्लेख्य मात्रामा रहेको देखिन्छ ।अच्च भ्रस्टाचार भएको कारणले पनि नेपालको अर्थराजनीति असफल भएको छ ।
२) क्रोनी क्यापिटालिजम
सरकारमा रहेका वा लाभको पदमा बहाल रहेका व्यक्तीको संलग्नतामा गलत व्यापारिक गतिविधी गरिनु जसमा व्यापारी र अच्च पदस्त व्यक्तीको मिलेमतो रहेको हुन्छ , त्यस्तो अवस्थालाई हामी क्रोनी क्यापिटालिजम भन्न् सक्छौँ । नेपालमा विभिन्न गलत आचारण रहेका व्यक्ती, समुह र सरकारको माथिल्लो तहमा रहेका व्यक्तीहरुको योजनामा बिभिन्न गैरकानुनीकाम हुने गर्दछन । सुन काण्ड , नक्कली भुटानी शरणार्थी काण्ड , यती काण्ड , वालुवाटार जग्गा घोटाला काण्ड लगायत सयौँ काण्डका कारण अर्थराजनीति विफल हुने अवस्थामा पुगेको छ ।
३) राजनैतीक संस्था तथा संवैधानिक अंगहरुको क्षयीकरण
राजनीतिक संस्था तथा संवैधानिक अंगहरुमा राजनीतिक नियुक्ती हुने कारण सही व्यक्ती सही स्थानहरुमा कहिल्यै पुग्न सकेनन । भ्रस्टाचार नियमन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रस्ट व्यक्तीहरुनै नियुक्त भईरहेका छन । यस्तै अवस्था अन्य संवैधानिक निकायमा पनि छ । न्यायलय पनि राजनीतिबाट अछुत हुन सकेन। न्यायलय पनि राजनीतिक भर्तीकेन्द्र भएको छ । क्षयीकृत राजनैतीक संस्था तथा संवैधानिक अंगहरुले प्रभावशाली काम नगर्दा देशको अर्थराजनीति असफलताको बाटोमा हिँडिरहेको छ ।
४) राजनीतिक अस्थिरता
विगत ३३ बर्षमा नेपालमा २९ वटाभन्दा धेरै सरकारहरु फेरीइसकेका छन । कुनै पनि सरकारले पुरै ५ बर्ष कार्यकाल चलाऊन सकेको अवस्था छैन । राजनितिक पार्टीहरुको सत्तामोहले सरकार बनाउने र गिराउने खेलमा मात्र नेपालका दलहरुलाई व्यस्त बनायो । बिकास निर्माण , आर्थिक समृद्धिका कुराहरु आश्वाशनमै सिमित रहे । नेपालमा अर्थतन्त्र उकास्ने विषयमा सोच्ने नेताहरु नै भएनन भन्दा पनि फरक पर्दैन । सरकार निर्माण र सरकार ढाल्नमै राजनीतिक पार्टीहरु अल्झिनाले आर्थिक बिकासको बारेमा सोच्ने फुर्सद कसैलाई भएन ।
५) अन्य कारणहरु :
-आर्थिक पारदर्शिताको अभाव
-आन्तरिक तथा बाह्य ऋण बढ्नु र सो अनुपातमा बिकास नर्माणका कार्य हुन नसक्नु
-उच्च बेरोजगारी र डरलाग्दो युवाहरुको विदेश पलायन
-आर्थिक तथा प्राकृतिक श्रोतको अनियमिता तथा हिनामिना
-असक्षम कर्मचारीतन्त्र
-विप्रेषणमा बढ्दो निर्भरता
-रास्ट्रिय गौरवका आयोजना तथा अन्य आयोजनाको निर्माणमा ढिलासुस्ती
यि र यस्ता थुप्रै कारणहरुले नेपालको अर्थराजनिती असफलताको बाटोमा द्रुतगतीमा लम्किरहेको छ । बेलैमा सम्बन्धित निकायहरु , जनता र राजनीतिक दलहरुले ठोस कदम चाल्न नसक्दा नेपालको राजनीतिक व्यवस्था र अर्थतन्त्र दुबै संकटमा परेको देखिन्छ । नेपालको अर्थराजनीतीलाई सही दिशा प्रदान गर्न राजनीतिक व्यवस्था र आर्थिक व्यवस्थाको पुनरावलोकन हुन जरुरी देखिन्छ
तपाईको प्रतिक्रिया