✍️ सफलता बोगटी,काठमाडौं
समय नै जीवन हो भन्ने कुरा हामीले प्रायः सुन्ने गर्छौं तर यसको वास्तविक मूल्यलाई बुझेर व्यवहारमा उतार्ने मानिस भने थोरै मात्र हुन्छन् । जीवनका हरेक पाटामा समय नै आधारभूत शक्ति बनेर रहेको हुन्छ । पैसा गुमे फेरि आर्जन गर्न सकिन्छ, स्वास्थ्य बिग्रिए उपचार गरेर सुधार्न सकिन्छ तर बितेको समय कहिल्यै फर्किँदैन । यही कारणले समयलाई सबैभन्दा ठूलो सम्पत्ति भनिन्छ ।हाम्रो दैनिकीमा प्रायः आज गर्ने कामलाई भोलि सार्ने, सानो कार्यलाई पनि ढिलाइ गर्ने बानी बस्छ । यसरी सधैं कामलाई पछाडि सार्दा अवसर गुम्छ र पछुतो मात्र हात लाग्छ । विद्यार्थीले अध्ययनमा ढिलाइ गर्दा परीक्षामा असफल हुन्छ, जागिरमा समयको कदर नगर्ने कर्मचारी अवसरबाट वञ्चित हुन्छ र व्यवसायमा ढिलाइ गर्ने व्यक्ति प्रतिस्पर्धामा पछि पर्छ । यसैले समय व्यवस्थापन हरेक क्षेत्रका लागि अनिवार्य आवश्यकता हो ।समयलाई व्यवस्थित बनाउन सक्ने आधारभूत तरिकाहरूमा योजना बनाउने बानी, प्राथमिकता तोक्ने कला, अनुशासन पालना गर्ने दृढता र फुर्सदको सदुपयोग गर्न सक्ने चेतना पर्दछन् । बिहान उठेर वा हप्ताको सुरुवातमा कामको सूची बनाउन सकिन्छ जसले दिनलाई व्यवस्थित बनाउँछ । सबै काम समान महत्त्वका हुँदैनन्, त्यसैले अत्यावश्यक कार्यलाई पहिले गर्नु उपयुक्त हुन्छ । समयमा उठ्ने, अध्ययन गर्ने, विश्राम गर्ने, स्वास्थ्यमा ध्यान दिने बानीले जीवनलाई अनुशासित बनाउँछ । खाली समयमा पुस्तक पढ्ने, व्यायाम गर्ने वा परिवारसँग समय बिताउने अभ्यासले जीवनलाई अझ अर्थपूर्ण बनाउँछ ।समय व्यवस्थापन सजिलो कुरा जस्तो लागे पनि वास्तवमा अभ्यासमा उतार्न चुनौतीपूर्ण हुन्छ । आत्मअनुशासन, दृढ संकल्प र निरन्तर अभ्यास बिना यसको सफल प्रयोग सम्भव हुँदैन । जसले समयलाई आफ्नो साथी बनाउन सक्छ उसले लक्ष्य हासिल गर्न कहिल्यै कठिन ठान्दैन । समयसँगै अवसर पनि हराउँछ भन्ने बोध हुँदा जीवनको प्रत्येक क्षणलाई सचेत भएर उपयोग गर्न प्रेरणा मिल्छ ।समयलाई सम्मान गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने मान्यता जीवनका अनेकौं उदाहरणमा प्रष्ट देखिन्छ । समाजमा सफल व्यक्तिहरूको जीवनकथा नियाल्दा समयप्रति उनीहरूको अनुशासन, समयमै गर्ने बानी र योजनाबद्ध अभ्यास नै मूल आधार बनेको पाइन्छ । हिजो बितिसक्यो, भोलि अनिश्चित छ तर आज हाम्रो हातमा छ भन्ने चेतना जसले बोक्छ उसकै जीवन अनुकरणीय र सफल हुन्छ ।
तपाईको प्रतिक्रिया