एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
अशोक राई र रिजवान अन्सारीको पार्टीबीच एकताका लागि छलफल
नयाँ राजनीतिक समीकरण र शक्तिशाली वैकल्पिक मोर्चा निर्माणका लागि राई र अन्सारीबीच गहन छलफल
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ ।
भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बारे गहन छलफल भएको बताइएको छ।
साथै, आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्न संवैधानिक मार्ग, र भविष्यको राजनीतिक स्थिरताबारे समेत व्यापक विचारविमर्श गरिएको छ ।
दुवै नेताबीच कार्यगत सहकार्यलाई अझ सुदृढ गर्दै, क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीतिमा छलफल अगाडि बढाउने सहमति भएको छ। मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने साझा अठोट समेत व्यक्त गरिएको छ।
नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका लागि वृहत् राजनीतिक शक्ति निर्माणको अपरिहार्यता औंल्याएका छन्।
यस भेटघाटलाई राजनीतिक वृत्तले आगामी दिनमा नयाँ राजनीतिक समीकरण र शक्तिशाली वैकल्पिक मोर्चा निर्माणतर्फको संकेतका रूपमा लिएको छ ।
तपाईको प्रतिक्रिया