सफलता बोगटी
हामी एउटा यस्तो युगमा बाँचिरहेका छौँ जहाँ संविधानले नागरिक को हैसियत दिएको छ, तर समाजले गोप्य रूपमा त्यस हैसियतको औकात तोकिदिएको छ। हामीले पुस्ताँैदेखि सुनेको त्यो अदृश्य आदेश अझै पनि हाम्रो चेतनामा गढेको छ। यसलाई आफ्नो औकात बुझाइदिनू। बोली फुट्नुअघि नै सिकाइदिनू पोथी बासेको राम्रो होइन। यो भनाइ केवल एक रूढिवादी धारणा मात्र होइन ।यो त हाम्रो सामाजिक शैक्षिक र कानुनी प्रणालीको जगमा गाडिएको पितृसत्तात्मक आदेश हो, जसले महिलालाई सधैँ अपवाद को रूपमा मात्र स्वीकार गर्छ । मानव को रूपमा होइन।
हामीले ‘अचिभर’ बन्ने सपनाका साथ कलेजका भर्याङहरू चढ्यौं तर त्यहाँ पुग्दा थाहा भयो त्यो ज्ञानको मन्दिरमा महिलाको बुद्धिको परीक्षण गर्नुअघि तिमी राम्री छौ ब्वाइफ्रेन्ड छ? या कुन क्रिम लगाउँछौ? जस्ता प्रश्नहरूले हाम्रो शरीरको सामाजिक मूल्य निर्क्योल गरिँदो रहेछ। यदि तपाईं सामाजिक मापदण्ड अनुसार राम्री हुनुहुन्न भने तपाईंलाई घण्टाैंसम्म प्रश्नमाथि प्रश्न सोधेर अन्तमा तँलाई केही पनि आउँदैन भन्ने निचोडमा पुर्याइन्छ। यो केवल अपमान होइन ।यो त महिलाको बौद्धिक आत्मबललाई सुनियोजित रूपमा विघटन गर्ने एउटा शैक्षिक रणनीति हो। त्यसैगरी, आन्तोन चेखबको कथा पढाउँदै महिलालाई चरित्रहिन या कमजोर भन्नु या डेभिड हर्वट लरेन्सको ककस्योर वुमन को अवधारणालाई सन् २००४ मा गौरवका साथ पढाउनुले के देखाउँछ? यसले देखाउँछ कि हाम्रो शैक्षिक प्रणालीले महिलालाई सशक्तिकरणको साटो सधैँ ‘डिमुर’ (विनयी र लजालु) बन्न प्रेरित गर्ने नैतिक शिक्षा को कारखानाको रूपमा काम गरिरहेको छ। पुरुषलाई ‘रिकुटे’ नबन्न सिकाउने काम समाजको हुनसक्छ, तर विवाहअघि यौनसम्बन्ध राख्न नहुने’ र ‘गर्भवती भए पुरुषको सहारा चाहिने जस्ता नैतिक पाठको बोझ सधैँ महिलाको काँधमा मात्रै किन? यो विभाजनले हामीलाई समान होइन नैतिक रूपमा जिम्मेवार र कमजोर को रूपमा मात्र स्वीकार गर्न सिकाउँछ।
कानुनको पवित्र मानिने कक्षाकोठामा जब ‘जबर्जस्ती करणी’ जस्ता संवेदनशील विषयमा छलफल हुन्छ, तब वातावरण अझ विषाक्त बन्छ। ‘पुरुषको पनि बलात्कार हुन्छ नि? या महिलाहरू आफ्नो फाइदाका लागि बलात्कार भन्छन् जस्ता असंवेदनशील टिप्पणीहरूले हामीलाई थाहा हुन्छ। उच्च शिक्षा पाएका पुरुष सहपाठीहरू पनि ‘रेप कल्चर’ को गहिराइलाई बुझ्न तयार छैनन्। उनीहरू प्रश्नलाई प्रश्नले काट्न खोज्छन् ।तर बलात्कारमा जवाफदेहीता कसरी सुनिश्चित गर्ने? भन्ने गम्भीर बहस गर्नबाट पन्छिन्छन्। यसरी दीक्षित भएका वकिल, न्यायाधीश वा मन्त्रीहरूबाट महिलाले आदर या मर्यादित व्यवहारको अपेक्षा गर्नु आफैँमा एउटा काल्पनिक सपना हो। त्योभन्दा गहिरो विडम्बना त नेपालको कानुनी इतिहासले दिन्छ, जहाँ मुलुकी ऐन ले व्यावहारिक रूपमा महिलाको हैसियतलाई राष्ट्रिय जनावर गाईको भन्दा तल राखेको थियो। गाई मार्नेलाई १२ वर्ष कैद, तर २० वर्षभन्दा माथिकी महिलालाई बलात्कार गरे सामान्यतया ५ देखि ७ वर्ष कैद। गाई लगायतका स्त्री पशुको बलात्कार भएको एक वर्षसम्म उजुरी गर्न मिल्ने तर महिलाले ३५ दिनभित्रै गर्नुपर्ने बाध्यता। यो तथ्यांकले हामीलाई गौमाताभन्दा तलको माल वा वस्तु को हैसियतमा सीमित गरिदिएको थियो। समानहरूबीच समानता को नाराभित्र लुकेको यो विषमताले नै हरेक महिलाको चित्त दुखाउँछ । किनकि यसले हाम्रो अस्तित्वलाई कुनै डेड (कानुनी हैसियतविहीन) महिलाभन्दा माथि उठाउन सकेको छैन।
यही औकात को बोध व्यक्तिगत र सार्वजनिक जीवनका हरेक पलमा हुन्छ। जब तपाईं रातको समय सडकछेउमा एक दुई मिनेट उभिनुहुन्छ । अनि कुनै पुरुष आएर जाने हो? कतिमा जाने? भनी तपाईंको शरीरको मोलमोलाइ गर्न थाल्छ । तब तपाईं तत्काल माल वा यौन प्यास बुझाउने वस्तु मा रूपान्तरित हुनुहुन्छ। यो अनुभवले मानिसलाई दोस्रो दर्जाको नागरिक को रूपमा होइन एक मोलमोलाइको साधनको रूपमा व्यवहार गरिरहेको हुन्छ। यस्तो बेला हामी सुपरकाली बनेर प्रतिवाद गर्न सक्दैनौँ बरु फ्रिज हुन्छौँ। हामी मौन बस्न बाध्य हुन्छौँ। विलाल हसनको कविताले भनेझैँ चुपचाप सब हो जाता है / होकर के गुजर जाता है… यो मौनता, यो फ्रिज हुने अवस्था हजारौं वर्षदेखि जम्मा भएको सामाजिक दबाबको परिणाम हो, जसले हामीलाई लड्न होइन चुपचाप सहनु नै उत्तम ठान्न सिकायो। तर हामीलाई थाहा छ इन्साफ उसलाई मात्र मिल्छ जो आफ्नो घाउ लुकाउँदैन जो लड्न सक्छ।
आज संविधानले हामीलाई सार्वभौम नागरिक घोषणा गरिसकेपछि पनि जब हामी समानता भेदभावरहित र समतामूलक समाजको अधिकार दाबी गर्छौं, तब पुरुषहरू किन डराउँछन्? डेभिड हर्वट लरेन्सले भनेझैँ, के उनीहरू आफैँलाई हेनस्योर (पोथी) बन्न डराइरहेका छन्? उनीहरूलाई थाहा छ, जब महिलाले ककस्योर बन्ने हिम्मत गर्छन् । तब पितृसत्ताको सम्पूर्ण संरचना नै हल्लिन्छ। महिलाले आफ्नो औकात भन्दा माथि उठेर आफू जे बन्न सक्छन्, त्यसको अधिकार दाबी गर्दा उनीहरूको वर्षौंदेखिको पुरुषसत्ता माथिको पकड कमजोर हुन्छ। त्यसैले यो लडाइँ केवल कानुनी अधिकारको होइन यो त अस्तित्वको हो चेतनाको हो र सबैभन्दा महत्त्वपूर्ण त हरेक व्यक्तिले एक अर्कालाई मान्छेको हैसियतमा स्वीकार गर्ने आधारभूत मानवीय मर्यादाको हो।तीन दशकको मेरो अनुभवले एउटा कुरा निश्चित गर्छ । यो लडाइँ शताब्दीदेखि चलिरहेको छ र समतामूलक समाज प्राप्त नभएसम्म चलिरहने छ।
म यस लडाइँमा सहभागी छु। तपाईं नि?
तपाईको प्रतिक्रिया