भक्तपुर, कार्तिक २६, २०८२ भक्तपुर-२, मिबाछेंस्थित एभरेस्ट स्कुलले न्यात-पोल (एभरेस्ट लर्निङ पार्टनर) को सहकार्यमा “सिकाइका लागि रोबोटिक्स” भन्ने नारासहित प्रविधि प्रदर्शनी सम्पन्न गरेको छ। उक्त प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूमा व्यवहारिक सिकाइ र सिर्जनशीलता प्रवर्द्धन गर्ने रहेको विद्यालयले जनाएको छ।
आजको युग विज्ञान र प्रविधिबाट निर्देशित रहेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीहरूलाई पुस्तकमा सीमित नभई प्रयोग र नवप्रवर्तनतर्फ उन्मुख बनाउन यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ। कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता (AI) र रोबोटिक्सजस्ता प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको सन्दर्भमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू प्रदर्शन गरेका थिए।
प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित यन्त्र र आधुनिक मोडेलहरू प्रस्तुत गरे। विद्यार्थीहरूले देखाएका ती यन्त्रहरू केवल प्रदर्शनका वस्तु नभई नेपालको भविष्यको प्रविधिमुखी झलक रहेको आभास मिलेको थियो।
अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो। उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता, व्यवहारिक ज्ञान र आत्मविश्वासप्रति प्रसंसा व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र प्रविधिबिना राष्ट्रको विकास सम्भव नहुने उल्लेख गर्दै कृत्रिम बौद्धिकताको प्रयोग र महत्वबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “सिकाइ अब पाठ्यपुस्तकमा मात्र होइन, प्रयोगशालामा जन्मिन्छ; विचार अब रटाइमा होइन, सृजनामा परिपक्व हुन्छ।”
प्रदर्शनीमा ४० वटा रोबोटिक्स सम्बन्धी सामाग्रीहरू प्रदर्शन गरिएको थियो। कार्यक्रम सफल बनाउन विद्यालयका कम्प्युटर तथा सूचना प्रविधि शिक्षकहरू र कर्मचारीहरूको उल्लेखनीय योगदान थियो।
तपाईको प्रतिक्रिया