-क्षितिज बिक्रम खनाल
२७ कार्तिक बुटवल। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८ का थानेश्वर घिमिरे
(राहदानी नं. १०६७६६८४) हाल संयुक्त अरब इमिरेट्स (यूएई)मा आपराधिक अनुसन्धानसँग
सम्बन्धित एक घटनामा संलग्न रहेको आशंकामा अनुसन्धान प्रक्रियामा रहेका छन्।
उनीमाथि स्थानीय प्रहरी प्रशासनले अर्को नेपाली नागरिकको मृत्युसँग सम्बन्धित घटनाको
सिलसिलामा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) लगाएको राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार, यो घटना गम्भीर प्रकृतिको भएकाले यूएईका सम्बन्धित निकायहरूले
अनुसन्धान पूरा नभएसम्म र कानूनी प्रक्रिया सकिएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने
स्पष्ट पारेका छन्।
राजदूतावासले मानवीय पक्षलाई ध्यानमा राख्दै श्रम काउन्सेलर, जनसम्पर्क अधिकृत र
थानेश्वर घिमिरेका कानूनी प्रतिनिधिको उपस्थितिमा तीन पटकसम्म सम्बन्धित प्रहरी
कार्यालय र अदालतमा औपचारिक भेटवार्ता गरी उनीलाई नेपाल फर्कन अनुमति दिनका लागि
अनुरोध गरेको थियो।
तर यूएई अध्यागमन कार्यालयले “घिमिरेमाथि चलिरहेको आपराधिक अनुसन्धान पूरा
नभएसम्म प्रतिबन्ध हटाउन नसकिने” भन्दै राजदूतावासको अनुरोध अस्वीकार गरेको छ।
सन् २०२४ सेप्टेम्बरदेखि डिसेम्बरसम्म चलेको आममाफी (एम्नेस्टी) अवधिमा समेत
राजदूतावासले घिमिरेका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) तयार गर्न पहल गरेको थियो,
तर सो प्रक्रिया पनि प्रतिबन्धका कारण सफल हुन सकेन।
राजदूतावासका अनुसार, थानेश्वर घिमिरे यूएई पुगेको केही समयमै सो घटनामा फसेका थिए।
प्रतिबन्धका कारण उनी कुनै रोजगारी गर्न वा नेपाल फर्कन सकिरहेका छैनन्। हाल उनी
नेपाली समुदायको सहयोगमा यूएईमै कठिन परिस्थितिमा बस्दै आएका छन्।
नेपालमा रहेका उनका परिवारजन, विशेषगरी उनकी दिदी लक्ष्मी घिमिरेका अनुसार, थानेश्वर
निर्दोष छन् र उक्त घटनामा उनको कुनै संलग्नता छैन। उनी भन्छिन्,
“हाम्रो परिवारमा बुबा नभएकाले घरको मुख्य जिम्मेवारी सोही छोरामाथि छ। अहिले उनी
विदेशमा अलपत्र परेका छन्। न काम गर्न पाएका छन्, न नेपाल फर्कन। घरमा पनि आर्थिक
र मानसिक दुवै समस्या बढेको छ।”
लक्ष्मी घिमिरेका अनुसार, यूएईस्थित नेपाली राजदूतावासले सक्दो प्रयास गरे पनि त्यसले मात्र
पर्याप्त नतिजा नल्याएको भन्दै अब नेपाल सरकारले पनि सक्रिय पहल गर्नुपर्ने बेला आएको
छ। उनले भनिन्,
“हामीले जहाँ जहाँ पुग्न सकिन्छ, सबै ठाउँमा गुहारेका छौं। तर, जसले वास्तवमै पहल गर्नुपर्ने
हो, त्यस पक्षबाट पर्याप्त प्रयास भएको देखिँदैन। नेपाल सरकारले यो मुद्दालाई द्रुत
अनुसन्धान र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान गरिदिनुपर्छ।”
परिवारले नेपाल सरकारमार्फत यूएई सरकारसँग समन्वय गरी अनुसन्धान प्रक्रिया छिटो
टुंग्याउन, निर्दोष प्रमाणित भए उनीलाई नेपाल फर्कन अनुमति दिलाउन आग्रह गरेको छ।
राजदूतावासले भने,
“हामी स्थानीय कानुनी प्रणालीको सीमाभित्र रहेर सक्दो कन्सुलर सहायता प्रदान गर्न
प्रतिबद्ध छौं। यो मुद्दा कूटनीतिक र कानूनी माध्यमबाट समाधान गर्न निरन्तर समन्वय
भइरहेको छ।”
थानेश्वर घिमिरे अहिले यूएईमा बिना रोजगारी र कमजोर स्वास्थ्य अवस्थासहित कठिन
जीवन बिताइरहेका छन्। परिवारजनले नेपाल र यूएई दुबै सरकारलाई मानवीय र न्यायिक
आधारमा यस मामिलाको छिटो समाधान गर्न पुनः आह्वान गरेका छन्।
तपाईको प्रतिक्रिया