काठमाडौँ । पौष ८ गते, काठमाडौँस्थित ‘Holiday Inn Resort, Budhanilkantha’ मा आयोजित एक भव्य कार्यक्रममा अन्तर्राष्ट्रिय होटल चेन IHG Hotels & Resorts र क्लब चौलानी लिमिटेड बीच होटल व्यवस्थापन सम्झौता (Hotel Management Agreement) सफलतापूर्वक सम्पन्न भएको छ। यो सम्झौता सुदूरपश्चिम प्रदेशको धनगढीमा निर्माण हुन लागेको ‘Holiday Inn by IHG, Dhangadhi’ लाई सञ्चालन गर्नका लागि भएको हो। यस होटललाई सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल मानिएको छ, जसले क्षेत्रीय पर्यटन र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र के. सी. र IHG Hotels & Resorts का दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैन ले हस्ताक्षर गर्नुभएको थियो। कुल २२० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको यो परियोजनामा ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्। अन्तर्राष्ट्रियस्तरको क्यासिनो, विशाल ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरलगायतका सुविधाहरूले होटललाई सुसज्जित गरिनेछ। कम्पनीका अनुसार, यस परियोजनाले क्यासिनोमा ६०० भन्दा बढी र होटलमा २०० भन्दा बढी गरी ठूलो संख्यामा स्थानीय रोजगारी सिर्जना गर्नेछ। 
भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख शहरहरूसँग नजिक रहेको धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले सीमावर्ती भारतीय पर्यटकहरूलाई आकर्षित गर्न र यस क्षेत्रलाई व्यवसायिक पर्यटनको केन्द्र बनाउन मद्दत पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। यसले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्नेछ।
तपाईको प्रतिक्रिया