९ पौष २०८२
हाईस्पीड सम्बादाता बागलुङ
आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट युवा नेता कल्याण विक्रम आचार्य उम्मेदवार बन्ने सम्भावनालाई लिएर चर्चा तीव्र बन्दै गएको छ। पार्टीले औपचारिक निर्णय सार्वजनिक नगरे पनि स्थानीयस्तर तथा सामाजिक सञ्जालमा आचार्यको नाम बलियो सम्भावित उम्मेदवारका रूपमा अघि आएको छ।

विशेषगरी युवा पुस्ता, बौद्धिक वर्ग र परिवर्तन चाहने मतदातामाझ उनको सम्भावित उम्मेदवारीलाई लिएर उल्लेखनीय चासो देखिएको छ। व्यवस्थापनमा स्नातकोत्तर (MBM) र कानुनमा स्नातक (LL.B) गरेका आचार्यको शैक्षिक पृष्ठभूमि, स्पष्ट दृष्टिकोण र प्रखर वक्ताको छविले उनलाई अन्य आकांक्षीहरूभन्दा फरक देखाएको स्थानीयको भनाइ छ।
लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै समाजका विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएका आचार्य हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक का रूपमा समेत जिम्मेवारी सम्हालिरहेका छन्। राजनीति मात्र नभई साहित्यमा पनि उनको दख्खल रहेको छ। उनी चर्चित उपन्यास ‘युवा उद्यमी’ का लेखक समेत हुन्, जसका कारण युवामाझ उनको छुट्टै पहिचान बनेको छ।
बागलुङका चोक, चिया पसल र सार्वजनिक छलफलहरूमा आचार्यको नाम बारम्बार सुनिन थालेको छ। “पढेलेखेको, समाज बुझेको र स्पष्ट सोच भएको युवाले नेतृत्व पाउनुपर्छ” भन्ने बहससँगै उनको उम्मेदवारीको चर्चालाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
राप्रपाले आफ्ना एजेण्डालाई सशक्त रूपमा अघि बढाउन सक्ने र विकासको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने नेतृत्व खोजिरहेको सन्दर्भमा आचार्यको नामले पार्टीभित्र र बाहिर नयाँ तरंग पैदा गरेको विश्लेषण गरिएको छ। यद्यपि, यस चर्चाले चुनावी परिणाममा कस्तो प्रभाव पार्छ र पार्टीले उनलाई कुन रूपमा अघि सार्छ भन्ने विषय भने आगामी दिनले नै स्पष्ट गर्नेछ।
तपाईको प्रतिक्रिया