मिति: पौष २४ गते, बिहिबार
हामी, देशभरका स्वतन्त्र व्यक्ति, गत निर्वाचनमा सहभागी भएका स्वतन्त्र उम्मेद्वारहरू तथा लौरो अभियानका अभियान्ताहरू, आज यहाँ एक अत्यन्तै गम्भीर र चिन्ताजनक विषयमा जनता र राष्ट्रसमक्ष सत्य सार्वजनिक गर्न उपस्थित भएका छौं। गत निर्वाचनमा देशभर प्रत्यक्ष तथा समानुपातिक (संघ/प्रदेश) तर्फ गरी जम्मा ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिको पक्षमा उभिएका सक्षम, क्षमतावान र देशप्रेमी नेपाली युवा/युवतीहरूले नेपालको राजनीतिमा रुपान्तरण र पुस्तान्तरणको उद्देश्यसहित साझा चुनाव चिन्हका रूपमा “लौरो चुनाव चिन्ह” प्रयोग गरेका थियौं। “लौरो चुनाव चिन्ह” कुनै व्यक्ति, समूह वा गुटको निजी सम्पत्ति होइन; यो स्थापित दलवादी राजनीतिबाट दिक्क भएका लाखौं नागरिकको आशा, विकल्प र प्रतिरोधको प्रतीक हो र थियो।
तर दुर्भाग्यवश, यही साझा चिन्हलाई केही सीमित व्यक्तिहरूले आफ्नो व्यक्तिगत र समुहगत राजनीतिक महत्वाकांक्षा पूरा गर्ने साधन, सौदाबाजीको हतियार र बार्गेनिङको माध्यम बनाउने प्रयास गरे। यो कार्य केवल राजनीतिक बेइमानी होइन, यो स्वतन्त्र आन्दोलनमाथि गरिएको खुला डकैती हो— जसले स्वतन्त्र उम्मेद्वारहरू, समर्थकहरू, लौरो अभियान्ताहरु र मतदाताको विश्वासमाथि गम्भीर आघात पुर्याएको छ।
वास्तविकता के हो भने, तत्कालीन “हाम्रो नेपाली पार्टी ” सबै स्वतन्त्र उम्मेद्वारहरूले एक साझा चुनाव चिन्ह (लौरो) प्रयोग गर्न सकून् भन्ने उद्देश्यले, निर्वाचन आयोगसमक्ष कानुनी प्रक्रिया र प्रयोजनका लागि मात्र सबै स्वतन्त्र उम्मेद्वारहरूको सहमतिमा अस्थायी रूपमा रिजर्भ गरी राखिएको संरचना थियो। यसलाई कुनै राजनीतिक दलको रूपमा विकास गर्ने वा निजी स्वार्थका लागि प्रयोग गर्ने सहमति कहिल्यै गरिएको थिएन। तर सोही पार्टीका अध्यक्ष तथा प्रवक्ताको भूमिकामा रहेका अनन्त राज घिमिरे र रोहन कार्कीले स्वतन्त्र तथा लौरो अभियानमा आबद्ध कुनै पनि सदस्यहरूसँग छलफल, समन्वय वा सहमति नगरी, पूर्णतः निजी स्वार्थका आधारमा, दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चुनाव चिन्ह नै सौदाबाजी गरी पार्टीको नाम परिवर्तन गर्दै “देश विकास पार्टी” बनाएको गम्भीर तथ्य हाम्रो सामु आएको छ।
यसपछि कालान्तरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएकाले, हामी स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न चाहन्छौं—
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मा प्रवेश नगर्दासम्म स्वतन्त्र लौरो अभियानका एक स्टेकहोल्डर थिए। तर जब उनी र उनको टिमले दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि “लौरो चुनाव चिन्ह” उनको वा उनको समूहको रहन सक्दैन। किनकि लौरो भनेको स्वतन्त्रहरूको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्र राजनीतिक आन्दोलनको मन्दिर हो। त्यसैले, वर्तमान अवस्थामा बालेन्द्र शाह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ-
आज हामी अत्यन्त स्पष्ट र कडा शब्दमा भन्न चाहन्छौं—
1. “लौरो चुनाव चिन्ह” कुनै व्यक्ति, समूह वा गुटको निजी सम्पत्ति होइन/थिएन; यो विकृत दलवादी राजनीतिबाट दिक्क भएका लाखौं नागरिकको आशा, विकल्प र प्रतिरोधको प्रतीक हो/थियो। “लौरो चुनाव चिन्ह” बेच्ने, साट्ने वा निजी/समुहगत स्वार्थमा प्रयोग गर्ने छुट/अधिकार कसैलाई छैन।
2. गत स्थानीय निर्वाचन हुदै संघ-प्रदेशको निर्वाचन सम्म आईपुग्दा (स्वतन्त्र अभियान, स्वतन्त्र उम्मेदवारी अभियान, लौरो अभियान) नेपाली परम्परागत राजनीतिमा शुद्धीकरणको काम गर्दै आएकोले हाल आएर स्वतन्त्र आन्दोलनलाई कमजोर पार्ने, बदनाम गर्ने र सौदाबाजीको खेल बनाउने कुनै पनि प्रवृत्तिलाई हामी पूर्ण रूपमा अस्वीकार र प्रतिरोध गर्छौं।
3. जो/कोहि व्यक्ति, समूह, दल जे-जसले स्वतन्त्र राजनीतिलाई निजी महत्वाकांक्षाको सिँढी बनाउन खोजे, उनीहरूले इतिहास र जनताको कठघरामा जवाफ दिनुपर्नेछ। हेक्का रहोस, स्वतन्त्र व्यक्ति/समूहलाई नाममा रोटि सेकाउनेहरुले न्युनतम नैतिकता नदेखाए ठुलो मूल्य चुकाउन पर्नेछ। “लौरो अभियान” वा “लौरो चुनाव चिन्ह” लाई कुनै पनि हालतमा व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चुकाउन तयार छौ।
4. हाल केहि सिमित दुषित व्यक्ति/समूहका हातमा हाम्रो नेपाली पार्टी हुदै देश बिकास पार्टीको नाममा लौरो चुनाव चिन्ह रहेकाले अबको एक हप्ता भित्र “लौरो चुनाव चिन्ह” स्वतन्त्र व्यक्ति/उम्मेद्वारहरुको हातमा लौरो चुनाव चिन्ह फिर्ता गर्न अन्तिम समय र मौका दिन चाहन्छौ। यदि एक हप्ता भित्र पनि आधिकारिक रुपमा लौरो फिर्ता गरिएन भने देश बिकास पार्टीको कार्यालय, काठमाडौं मेयर बालेन शाहको घर/कार्यालयको गेटमै विभिन्न बिरोध तथा धर्नाका कार्यक्रम गर्ने समेतको जानकारी गराउदछौ।
5. निर्वाचन आयोगम तत्कालिन हाम्रो नेपाली पार्टीका पधाधिकारी तथा केन्द्रीय सदस्यहरुका हस्ताक्षर सनाखत नै नगरी किर्ते गरेर पार्टीको नाम परिवर्तन गरि देश विकास पार्टी राखेको प्रक्रिया अवैधानिक भएकोले हामि कानुनि लडाई लगायत सबै खाले संघर्ष गर्न तयार रहेको जानकारी गराउदछौ ।
6. यस घटनाका कारण स्वतन्त्र आन्दोलनमा भ्रम, निराशा र आक्रोश पैदा भएको छ। तर हामी यो पनि स्पष्ट पार्छौं कि यो आन्दोलन कसैको स्वार्थले समाप्त हुने होइन। उल्टै, यस्ता घटनाले स्वतन्त्र राजनीतिलाई अझ संगठित, सजग र दृढ बनाउनेछ। आज सम्पन्न देशभरिका स्वतन्त्र तथा लौरो अभियानमा आबद्ध उम्मेद्वारहरूको भेलाले एकमतले माथि उल्लेखित निर्णय र प्रतिबद्धता गरेको छ।
स-धन्यवाद सहित.
तपाईको प्रतिक्रिया