२०८२ साल माघ ९
हाइस्पीड सम्वाददाता
पूर्व मन्त्री महावीर पुनले मन्त्री पदमा रहँदाको अनुभव र पदबाट बाहिरिएपछिको स्वतन्त्रताबारे खुलेर धारणा राखेका छन्। उनले मन्त्री हुनु जति कठिन ठानिएको छ, वास्तविकतामा त्यति गाह्रो नलागेको बताए। मन्त्री पदबाट राजीनामा दिएपछि आफूलाई मानसिक र शारीरिक रूपमा हल्का महसुस भएको उल्लेख गर्दै उनले अहिले खुला रूपमा हिँडडुल गर्न, घुम्न र आफ्ना विचार राख्न पाएकोमा सन्तोष व्यक्त गरे।
पुनका अनुसार मन्त्री रहँदा सामान्य रूपमा बाहिर निस्कनसमेत सहज हुँदैनथ्यो। सुरक्षाका नाममा सधैं सेना र प्रहरीको निगरानीमा बस्नुपर्दा व्यक्तिगत स्वतन्त्रता सीमित हुने अनुभव उनले सुनाए। सिंहदरबार बाहिर स्वतन्त्र रूपमा हिँड्न नपाइने अवस्था रहेको र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्नसमेत कठिन भएको उनको भनाइ छ। उनका अनुसार, मन्त्री पदमा हुँदा मानिससँग खुलेर कुरा गर्ने अवसर पनि प्रायः सिंहदरबारभित्र सीमित हुन्थ्यो।
यस अनुभवलाई स्मरण गर्दै पुनले मन्त्री पदप्रति देखाइने अत्यधिक आकांक्षाप्रति आश्चर्य व्यक्त गरेका छन्। व्यक्तिगत खुसी, स्वतन्त्र आवागमन र खुला संवाद गर्न नपाइने अवस्था हुँदाहुँदै पनि मानिसहरू किन मन्त्री पदका लागि मरिहत्ते गर्छन् भन्ने प्रश्नले आफूलाई नै अचम्मित बनाएको उनले बताएका छन्।
श्रोत : रुटिन अफ नेपाल बन्द (RONB)
तपाईको प्रतिक्रिया