२०८१ माघ १५
हाईस्पीड सम्बादाता काठमाडौं
सिनियर तथा जुनियर ‘चार्मिङ नेपाल’ प्रतियोगिताअन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न भएको छ। आहाना प्रोडक्सनद्वारा आयोजित अडिसनमा १२ जना सहभागी अर्को राउण्डको लागि छनोट भएका छन्। आयोजकले दोस्रो चरणको अडिसन छिट्टै आयोजना गर्ने जनाएको छ।

कार्यक्रम संस्थापक तथा प्रबन्ध निर्देशक रोसा श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो। अडिसन कार्यक्रमको समन्वय चाहना प्रधानले गरेकी थिइन् भने कोरियोग्राफर अञ्जन कुँवरको निर्देशनमा सहभागीहरूले मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
अडिसन चरणमा मोडल रेणुका चौधरी, चर्चित इन्फ्लुएन्सर जेरी क्षेत्री, मिस युनिभर्सल वुमन श्रीयंका थापा तथा मोडल नीना बुढाथोकी निर्णायक मण्डलमा रहेका थिए। निर्णायकहरूले सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व तथा प्रस्तुति क्षमताको आधारमा मूल्यांकन गरेका थिए।


आयोजकका अनुसार सिनियर तथा जुनियर ‘चार्मिङ नेपाल’ प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभालाई पहिचान गर्दै उनीहरूको व्यक्तित्व विकास र मञ्चीय क्षमता अभिवृद्धि गर्नु हो। प्रतियोगितामार्फत सहभागीलाई प्रशिक्षण, मिडिया एक्सपोजर तथा राष्ट्रियस्तरको पहिचान दिलाइने बताइएको छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै रोसा श्रेष्ठले भनिन्,
“पहिलो चरणको अडिसन सफल भएको छ। सहभागीहरूमा देखिएको आत्मविश्वास र सम्भावनाले हामीलाई उत्साहित बनाएको छ। आगामी चरण अझ प्रभावकारी हुने विश्वास छ।”
आयोजकका अनुसार प्रतियोगिताका लागि दर्ता प्रक्रिया खुला नै रहेको छ भने दोस्रो चरणको अडिसनको मिति र स्थान चाँडै सार्वजनिक गरिनेछ।
तपाईको प्रतिक्रिया