२०८२ साल माघ १८
हाइस्पीड सम्वाददाता
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा अधिवक्ता कमल कोइराला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। “नीति र नियतमा इमानदार, नेतृत्वमा जिम्मेवार” भन्ने सन्देशसहित सार्वजनिक गरिएको उनको चुनावी विवरणले शिक्षा, पेशागत अनुभव र नागरिक सरोकारलाई केन्द्रमा राखेको देखिन्छ।
सिन्धुलीको दुधौली नगरपालिका–६ मा जन्मिएका कोइराला हाल काठमाडौं महानगरपालिका–११, बबरमहल/थापाथली क्षेत्रमा बसोबास गर्दै कानुन व्यवसायमा सक्रिय छन्। उनले कानून, राजनीति र सामाजिक सेवामा लामो समयदेखि संलग्न रहेको दाबी गरेका छन्।
उनको शैक्षिक पृष्ठभूमिमा कानून (LLB), अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य कानून (LLM), राजनीतिशास्त्र र समाजशास्त्र समावेश छन्। विभिन्न कलेज र क्याम्पसमा अध्यापन तथा प्रशिक्षणमा संलग्न रहँदै आएका कोइरालाले न्याय, मानव अधिकार र सुशासनसम्बन्धी विषयमा काम गरेको विवरण सार्वजनिक गरिएको छ।
पेशागत रूपमा उनले बहुराष्ट्रिय कम्पनी, शैक्षिक संस्था, उद्योग, गैरसरकारी संस्था तथा सामाजिक संघ–संस्थासँग कानुनी सल्लाहकार, अधिवक्ता र प्रशिक्षकका रूपमा काम गरेको उल्लेख गरिएको छ। उपभोक्ता अधिकार, वातावरणीय न्याय, श्रम अधिकार, सूचना अधिकार र सार्वजनिक सरोकारका मुद्दामा संलग्नता उनको पृष्ठभूमिको मुख्य पक्षका रूपमा प्रस्तुत गरिएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार उनले विभिन्न स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र व्यवसायिक संस्थासँग नीति तथा कानुन निर्माण प्रक्रियामा समेत सहकार्य गरेको अनुभव रहेको बताइएको छ। विपद् व्यवस्थापन, पुनर्निर्माण, राहत तथा सामाजिक पुनर्स्थापनाका काममा समेत संलग्नता रहेको उल्लेख छ।
राजनीतिक विश्लेषकहरूका अनुसार कोइरालाको सार्वजनिक परिचय र विवरणले उनको उम्मेदवारी व्यक्तिकेन्द्रित नाराभन्दा शिक्षा, पेशागत योग्यता र नागरिक मुद्दामा आधारित देखिन्छ। यद्यपि स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत उनका एजेन्डा कति प्रभावकारी रूपमा मतदातासम्म पुग्छन् र व्यवहारिक राजनीतिक समर्थन कति जुट्छ भन्ने विषय भने आगामी निर्वाचन परिणामले नै स्पष्ट गर्नेछ।
तपाईको प्रतिक्रिया