२०८२ साल माघ २१
हाइस्पीड सम्वाददाता
“पदका लागि होइन, पद्धतिका लागि”: स्वतन्त्र उम्मेदवार कमल कोइरालाको चुनावी घोषणा
विगत आठ वर्षदेखि अधिवक्ताका रूपमा सक्रिय रहँदै आएका कमल कोइराला अहिले काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। संविधान विपरीतका प्रावधानविरुद्ध पटक–पटक अदालतमा रिट दायर गर्दै आएका कोइरालाले अब प्रत्यक्ष रूपमा नीतिनिर्माण तहमा पुगेर काम गर्ने लक्ष्यसहित राजनीति रोजेको बताएका छन्।
एक अन्तर्वार्तामा बोल्दै उनले राजनीतिमा प्रवेश गर्नुको मुख्य कारण योग्य र शिक्षित व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने आवश्यकता रहेको बताए। “सधैं अयोग्यबाट शासित भइरहनु हुँदैन भन्ने महसुस भयो। त्यसैले अब दर्शक होइन, परिवर्तनको सहभागी बन्ने निर्णय गरें,” उनले भने।
संसदमा पुगेपछि जनताको आवाज निर्भीक रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै कोइरालाले कुनै पनि दलको दबाब वा प्रभावमा नपरी सत्यको पक्षमा उभिने बताए। उनका अनुसार देशको विकासका लागि नयाँ नाराभन्दा पनि प्रभावकारी कानुन र त्यसको कडाइका साथ कार्यान्वयन आवश्यक छ। “नीति राम्रो भए देश आफैं अगाडि बढ्छ, तर पालना नहुने परिपाटी अन्त्य हुनुपर्छ,” उनले जोड दिए।
मन्त्री बन्ने आकांक्षा नरहेको स्पष्ट पार्दै उनले आफ्नो प्राथमिकता गुणस्तरीय कानुन निर्माण र जनमुखी बजेटको समर्थन रहेको बताए। “मन्त्री पद लक्ष्य होइन। संसदमा बसेर नागरिकका पक्षमा बोल्ने र सही निर्णयलाई साथ दिने मेरो उद्देश्य हो,” उनले भने।
भ्रष्टाचारप्रति कडा धारणा राख्ने कोइरालाले आफू कुनै ठेक्का प्रक्रिया वा निर्माण कार्यमा संलग्न नहुने प्रतिबद्धता जनाए। “भ्रष्टाचार शब्द नै मेरो लागि असह्य छ। पारदर्शिता बिना समृद्धि सम्भव छैन,” उनको भनाइ छ।
डिजिटल शासन प्रणाली, ब्लकचेन प्रविधिको प्रयोगमार्फत पारदर्शिता, मानसिक स्वास्थ्य सेवाको विस्तार तथा मौलिक हकको पूर्ण कार्यान्वयन उनका प्रमुख एजेन्डा रहेका छन्। युवालाई लक्षित गर्दै उनले राजनीति परिवर्तनको प्रमुख शक्ति नै नयाँ पुस्ता भएको उल्लेख गरे। “मेरो जित व्यक्तिगत जित मात्र होइन, युवाको आशाको जित हुनेछ,” उनले भने।
आफ्नो प्रेरणाको स्रोतबारे बोल्दै कोइरालाले बुवाबाट पाएको आत्मसम्मान र कसैको चाकडी नगर्ने संस्कारले नै आफूलाई यहाँसम्म ल्याएको बताए। साथै, देशलाई पुरानो अनुभव र नयाँ सोचबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको धारणा छ।
आफ्नो कमजोरीबारे खुला रूपमा स्वीकार गर्दै उनले सबैलाई सहजै विश्वास गर्ने बानीका कारण कहिलेकाहीँ धोका पाए पनि निराश नहुने बताए। “विश्वास गुमाएर राजनीति गर्न सकिँदैन,” उनले भने।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कोइरालाले परम्परागत राजनीतिभन्दा फरक अभ्यासमार्फत मतदाताको भरोसा जित्ने दाबी गरेका छन्। आगामी निर्वाचनले मतदाताले पुरानै शैलीलाई निरन्तरता दिने कि नयाँ विकल्प रोज्ने भन्ने प्रश्नसमेत उठाएको छ।
तपाईको प्रतिक्रिया