२०८२ साल माघ २५
हाइस्पीड सम्वाददाता
चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो सुरु
चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘डेरी एक्स्पो’ आजदेखि सुरु भएको छ। चितवन डेरी उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणमा नयाँ सम्भावना सिर्जना गर्ने लक्ष्य राखेको छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण तथा नवीन दुग्धजन्य उत्पादन प्रदर्शन गरेका छन्। यी प्रविधिको प्रयोगले उत्पादन लागत घट्ने र दूधको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, व्यावसायिक तालिम र बजार पहुँच आवश्यक रहेको बताए। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजार सुनिश्चित गर्न यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे।
चितवन डेरी उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोलाई नेपाली दुग्ध क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रविधिसँग जोड्ने साझा मञ्चका रूपमा वर्णन गरे। एक्स्पो अवधिभरि किसान, उद्यमी र विज्ञबीच अन्तर्क्रिया, अनुभव आदान–प्रदान तथा व्यावसायिक सञ्जाल निर्माणका कार्यक्रम सञ्चालन हुनेछन्। यस मेलाले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म दुग्ध अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया