२०८२ साल माघ २५
हाइस्पीड सम्वाददाता
अक्सिजन लेभल घट्दा गम्भीर जोखिम, चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न आग्रह
मानव जीवनका लागि अत्यावश्यक अक्सिजनको महत्व बढ्दो वायु प्रदूषणसँगै झन् स्पष्ट बन्दै गएको छ। फोक्सो तथा दमरोग विशेषज्ञ डा. नवीनकुमार मिश्रका अनुसार सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशत हुनुपर्छ, जबकि ९० प्रतिशतभन्दा कम भएमा अवस्था संवेदनशील मानिन्छ र तुरुन्त चिकित्सकीय ध्यान आवश्यक पर्छ। विशेषगरी दम, फोक्सो वा मुटुसम्बन्धी दीर्घरोग भएका बिरामीमा अक्सिजन सपोर्ट (मास्क वा सिलिन्डर) आवश्यक हुन सक्छ। अक्सिजन कमी हुँदा सास फेर्न गाह्रो हुनु, टाउको दुख्नु, रिंगटा लाग्नु, धमिलो देख्नु तथा हृदयघात वा पक्षाघातको जोखिम बढ्ने जस्ता लक्षण देखिन सक्छन्। अक्सिजन आपूर्तिका लागि सिलिन्डर, कन्सन्ट्रेटर र नेजल क्यानुला प्रयोग गरिन्छ, जसमा कन्सन्ट्रेटर घरमै अक्सिजन उत्पादन गर्ने भएकाले बढी उपयोगी मानिन्छ। नेपालमा कन्सन्ट्रेटरको मूल्य करिब रु. ४८ हजारदेखि ४ लाखसम्म पर्ने बताइएको छ। घरमा अक्सिजन उपकरण राख्दा पल्स अक्सिमिटर अनिवार्य राख्ने, उपकरणको नियमित सफा र मर्मत गर्ने तथा चिकित्सकको सल्लाहबिना प्रयोग नगर्ने सुझाव दिइएको छ। धेरै अक्सिजन पनि हानिकारक हुन सक्ने भएकाले मनलाग्दी प्रयोग नगर्न चिकित्सकले चेतावनी दिएका छन्। अक्सिजन कमीबाट निको हुने समय भने कारणअनुसार फरक पर्ने बताइएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया