२०८२ साल माघ २८
हाइस्पीड सम्वाददाता
सिरहा जिल्ला कारागारमा कैदीबन्दीमाथि भएको अमानवीय व्यवहार र अवैध हतियार बरामद प्रकरणले कारागार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। २५ माघ साँझ करिब ६ बजे १० जना कैदीबन्दीको आँखामा पट्टी बाँधेर हात पछाडि बाँधी घरेलु हतियार प्रयोग गरी कुटपिट गरिएको सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा पुगेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली कारागार पुग्दा ती कैदीबन्दीहरू बाँधिएको अवस्थामा फेला परे भने केहीले विरोधसमेत गरिरहेका थिए। उद्धार गरिएका कैदीबन्दीलाई थप सुरक्षा व्यवस्थासहित प्रहरी कार्यालय लगिएको थियो।
प्रारम्भिक बयानमा पीडितहरूले कारागारभित्र दबदबा कायम गर्दै आएका इन्द्रजित यादवलाई घटनाको मुख्य योजनाकार बताएका छन्। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका यादव औपचारिक रूपमा नाइके नभए पनि हतियारको आडमा कारागार प्रशासनलाई प्रभावमा पारेर आफ्नो नियम चलाउने, आदेश नमानेकालाई यातना दिने जस्ता गतिविधिमा संलग्न रहेको सुरक्षा स्रोतको भनाइ छ।
घटनापछि २६ माघमा सेनाको सहयोगमा गरिएको सर्च अपरेशनका क्रममा जिम हलभित्र पुरानो ब्ल्याङ्केटमा लुकाएर राखिएको पेस्तोल, ७.६२ लेखिएका दुई राउण्ड गोली तथा अन्य घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि कारागारभित्र लागूऔषध, मदिरा र जुवातासजस्ता निषेधित गतिविधि हुने गरेको चर्चा भए पनि कैदीकै हातमा पेस्तोल भेटिनु अत्यन्त गम्भीर सुरक्षा कमजोरीका रूपमा हेरिएको छ।
पेस्तोल कारागारभित्र कसरी छिर्यो भन्ने विषय अझै अनुसन्धानमै रहेको प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूले बताएका छन्। यद्यपि, कारागार स्रोतका अनुसार उक्त हतियार करिब दुई वर्षअघिदेखि भित्र रहेको हुनसक्ने अनुमान छ। चौकीदारलाई राशन किनमेलका लागि बाहिर जान र मोबाइल प्रयोग गर्न दिइने सुविधाको दुरुपयोग गरेर हतियार ल्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ। एक भारतीय कैदीले एक महिनाअघि नै यसबारे सूचना दिएको भए पनि यादवको प्रभावका कारण तत्काल अपरेशन गर्न नसकिएको समेत खुलासा भएको छ।
यातना प्रकरणपछि इन्द्रजितसहित १३ जनालाई नियन्त्रणमा लिएर विभिन्न कारागारमा सारिएको छ। इन्द्रजितलाई केन्द्रीय कारागार जग्गनाथदेवल, केहीलाई नुवाकोट र रौतहट पठाइएको छ भने पीडित कैदीहरूलाई झापा, मोरङ र सुनसरी सरुवा गरिएको छ।
उल्लेखनीय कुरा के छ भने पछिल्लो केही वर्षयता सिरहा कारागारमा भएका अधिकांश झडप, कुटपिट र तनावका घटनामा इन्द्रजितको समूह जोडिँदै आएको प्रहरी अधिकारीहरू बताउँछन्। यस घटनाले कारागार प्रशासन र सुरक्षा संयन्त्रको भूमिकामाथि छानबिन आवश्यक भएको संकेत दिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया