२०८२ साल माघ २८
हाइस्पीड सम्वाददाता
रुपन्देही–२ मा चुनावी माहोलबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। मंगलबार दिउँसो बुटवल–११ स्थित होराइजन चोकमा मत माग्दै हिँडिरहेका खरेलको उपस्थितिको खबर पाएपछि सुप्रिम बचत तथा ऋण सहकारीका पीडितहरू प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए। उनीहरूले सहकारी बचत अपचलन प्रकरणमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै विभिन्न नाराबाजी गरे।
पीडितहरूका अनुसार प्रदर्शनकारी जम्मा भएको देखेपछि उम्मेदवार खरेल नजिकैको एल डोराडो रेष्टुरेन्टमा प्रवेश गरेका थिए र करिब एक घण्टासम्म बाहिर ननिस्केपछि आफूहरू फर्किएको बताएका छन्। बचतकर्ताहरूले आफ्नो दुःखले कमाएको रकम कहिले फिर्ता हुन्छ भन्ने प्रश्न सोध्न खोजे पनि भेट्न नपाएको गुनासो गरेका छन्। एक पीडितका अनुसार मात्रै उनको परिवारको करिब ११ लाख रुपैयाँ फिर्ता हुन बाँकी छ।
सुप्रिम सहकारीका १० हजारभन्दा बढी बचतकर्ताको करिब ७८ करोड ५० लाख रुपैयाँ अपचलन भएको बताइएको छ। त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको र प्रक्रिया पूरा नगरी २ करोड रुपैयाँ रवि लामिछानेको नाममा ऋण लिएको आरोप पनि छ। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा लामिछाने जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा रिहा भइसकेका छन्।
यता उम्मेदवार खरेलले भने प्रदर्शनबारे अनभिज्ञता जनाउँदै चुनावका बेला यस्ता घटनाहरू सामान्य हुने र यो विषय आफ्नो प्रत्यक्ष सरोकारको मुद्दा नभएको प्रतिक्रिया दिएका छन्। रुपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल लगायत ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्, जसले यस क्षेत्रको चुनावलाई थप प्रतिस्पर्धी बनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया