२०८२ साल फाल्गुन १
हाइस्पीड सम्वाददाता
रवि लामिछाने स्याङ्जामा चुनावी माहोल बुझ्न पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनलाई ‘नयाँ विकल्प’को परीक्षा भएको बताएका छन्। “स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ, यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्,” उनले मतदातासँग आग्रह गरे।
चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा उनले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्म १९ स्थानमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। साथै स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई नयाँ राजनीतिक विकल्पको परीक्षण भएको उल्लेख गरे।
आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने महत्वपूर्ण समय भएकाले सोचेर निर्णय गर्न उनले मतदातालाई आह्वान गरेका छन्। स्याङ्जाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया