२०८२ साल फाल्गुन ४
हाइस्पीड सम्वाददाता
सिरहामा ३० बिघा उखुखेतीमा आगलागी, करोडौँको क्षति
सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा सोमबार दिउँसो करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखुखेतीमा आगलागी हुँदा २५ जना किसानको उखु जलेर नष्ट भएको छ। प्रहरीले प्रारम्भिक रूपमा आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार दिउँसो करिब १ बजे उखुबारीको मध्यभागबाट आगो सल्किएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तर आगो तीव्र रूपमा फैलिँदा समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको बताइएको छ। स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन भने रोकिएको थियो।
लहान नगरपालिकाको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजार नगरपालिकाबाट आएको दमकलले करिब ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार चुरोट वा बिँडीको ठुटो फालिएको वा नियतवश आगो लगाइएको हुन सक्ने आशंका गरिएको छ।
पीडित किसानहरूले मलखाद र सिँचाइको समस्या झेल्दै हुर्काएको उखु बेच्ने तयारीमा रहेका बेला आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको बताएका छन्। किसान विष्णु यादवले उखु बेचेर घरखर्च र ऋण तिर्ने योजना रहेको भए पनि सबै मेहनत डुबेको गुनासो गरे। अर्का किसान रामलखन मण्डलले दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्।
किसानहरूको अनुमान अनुसार प्रतिकठ्ठा ३०–३५ क्विन्टल उत्पादन हुने उखुको कुल उत्पादन करिब १८ हजार क्विन्टल हुन सक्ने र यसको बजार मूल्य करिब १ करोड २४ लाख रुपैयाँ पुग्ने बताइएको छ। पीडित किसानहरूले क्षतिपूर्ति, राहत तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया