२०८२ साल फाल्गुन ६
हाइस्पीड सम्वाददाता
हिमाली जिल्लाको मान्यता कार्यान्वयन म्याग्दीमा मुख्य चुनावी एजेन्डा
म्याग्दीमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले “हिमाली जिल्लाको मान्यता कार्यान्वयन” लाई प्रमुख चुनावी मुद्दा बनाएका छन्। विसं २०७५ फागुन १९ गते राजपत्रमार्फत म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत गरिए पनि आवश्यक ऐन, नियम र कार्यविधि संशोधन नभएकाले उक्त मान्यता व्यवहारमा लागू हुन सकेको छैन।
हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन नहुँदा सङ्घीय र प्रदेश सरकारले विनियोजन गर्ने बजेट, सञ्चालन गर्ने विकास योजना, स्थानीय तहले पाउने अनुदान तथा शिक्षक–कर्मचारीले पाउने सेवासुविधा प्रभावित भएको उम्मेदवारहरूको भनाइ छ। उनीहरूका अनुसार सुगम जिल्लाको मापदण्डअनुसार योजना र बजेट निर्धारण हुँदा दुर्गम तथा हिमाली भेगका आवश्यकताहरू सम्बोधन हुन सकेका छैनन्, जसका कारण विकास आयोजना अधुरा र अलपत्र पर्ने समस्या बढेको छ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन गराई विकास आयोजना प्रभावकारी रूपमा अघि बढाउने र सार्वजनिक सेवा प्रवाह सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले पनि कानुनी संशोधनमार्फत म्याग्दीको वास्तविक भौगोलिक अवस्थाअनुसार योजना र बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले कर्मचारी अभाव र सेवा प्रवाहमा देखिएको जटिलता समाधानका लागि हिमाली मापदण्ड लागू गरिनु अपरिहार्य रहेको बताए। स्वतन्त्र उम्मेदवार महाविर पुनले सन्तुलित विकासका लागि उक्त मापदण्ड कार्यान्वयन अनिवार्य भएको उल्लेख गरेका छन्।
हिमाली सुविधा र मूल्याङ्कनको अभावका कारण शिक्षक तथा कर्मचारी आकर्षित हुन नसकेको र दरबन्दीअनुसार जनशक्ति पूर्ति नहुँदा सरकारी सेवा प्रभावित भएको उम्मेदवारहरूको साझा धारणा छ। धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार हिमालसँग जोडिएका बस्तीहरू पहाडी रूपमा सूचीकृत हुँदा स्थानीय बासिन्दा हिमाली जिल्लाले पाउने सेवा–सुविधाबाट वञ्चित भएका छन्।
म्याग्दीको भूगोलमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका हिमालसहित मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर र नीलगिरि हिमालका भागहरू समेटिएका छन्। धौलागिरि गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला तथा अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र शिख क्षेत्र हिमालसँग प्रत्यक्ष जोडिएका छन्।
जिल्लामा ६ स्थानीय तह र ४५ वडा रहेका छन्। आगामी निर्वाचनमा ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले उम्मेदवारी कायम राखे पनि स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्ने घोषणा गरेका छन्।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका छन् भने ८२ मतदानस्थल र १२० मतदान केन्द्र तोकिएका छन्। हिमाली जिल्लाको मान्यता कार्यान्वयनको मुद्दाले यसपटकको निर्वाचनमा निर्णायक भूमिका खेल्ने आँकलन गरिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया