२०८२ साल फाल्गुन ६
हाइस्पीड सम्वाददाता
शिवरात्री ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार श्रेष्ठले पशुपति क्षेत्रमा खटिएका एक प्रहरीलाई लात्ती प्रहार गर्दै छातीमा हानेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक चर्चा भएको थियो। तर प्रारम्भमा आक्रमण गर्ने युवकको पहिचान खुल्न सकेको थिएन।
मंगलबार प्रहरीले सूचना जारी गर्दै घटनामा संलग्न व्यक्तिको पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो। त्यसलगत्तै अनुसन्धानका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया