२०८२ साल फाल्गुन १०
हाइस्पीड सम्वाददाता
“जेनजीको एजेन्डा, डिजिटल प्रशासन र ‘एक घर–एक रोजगारी’को वाचा”
आम जनता पार्टी (आजपा)की नेतृ तथा काठमाडौं–६ की उम्मेदवार सफलता बोगटी ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन्। लैनचौर, असन, ठमेल, महाबौद्ध, धर्मस्थली र मनमैजु लगायतका क्षेत्रमा घरदैलो तथा छलफल कार्यक्रम गर्दै उनले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफू उम्मेदवार बनेको बताएकी छन्।
आजपाले देशभरि नै जेनजी उमेर समूहका उम्मेदवार उठाएको उल्लेख गर्दै बोगटीले यसपटक मतदातालाई “मोबाइल” चिन्हमा मतदान गर्न अपिल गरेकी छन्। संघीय राजधानी काठमाडौंलाई सबै नेपालीको साझा राजधानीका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था, पूर्ण डिजिटल प्रशासन, भ्रष्टाचारविरुद्ध कडा कदम तथा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरणजस्ता मुद्दा अघि सारेकी छन्। त्यस्तै, ‘एक घर–एक रोजगारी’ कार्यक्रम लागू गर्दै बेरोजगारलाई भत्ता दिने, निःशुल्क स्वास्थ्य र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, किसानलाई मासिक पेन्सन र सिँचाइ सुविधा उपलब्ध गराउने तथा गरिब र दलित समुदायलाई पक्की आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कर प्रणाली सुधार गर्दै करको दर घटाउने, घुस अन्त्य गर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने एजेन्डा पनि उनले प्रस्तुत गरिन्। साथै, सांसदलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल) लागू गर्ने प्रस्तावसमेत राखेकी छन्।
बोगटीले दैनिक रूपमा स्थानीयसँग छलफल गर्ने र सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाउँदै काठमाडौंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा जोड दिने बताइन्। रौतहटको मौलापुरमा उपलब्ध केही सेवा–सुविधालाई काठमाडौंमा विस्तार गर्ने लक्ष्यसमेत उनले व्यक्त गरिन्।
पार्टी घोषणापत्रअनुसार नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने उद्देश्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी उपलब्ध गराउने योजना र प्रत्येक विद्यार्थीले कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्था लागू गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
समग्रमा, बोगटीले युवा केन्द्रित विकास, सुशासन र डिजिटल रूपान्तरणलाई मुख्य आधार बनाउँदै काठमाडौं–६ मा आफ्नो उम्मेदवारी अघि बढाएकी छन्।
तपाईको प्रतिक्रिया