२०८२ साल फाल्गुन १५
हाइस्पीड सम्वाददाता
धनुषाको औरही गाउँपालिका–६ स्थित खेतमा १९ वर्षीय सुमित मण्डल मृत अवस्थामा फेला परेको घटनामा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरीले जनाएको छ। हंसपुर नगरपालिका–९ रुदौली निवासी मण्डलको शव बिहीबार दिउँसो करिब ४ बजे घाँटी रेटिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी अगाडिबाट घाँटी रेटिएको र शरीरका विभिन्न भागमा कुटपिटका गम्भीर चोट देखिएको छ। घटनाबारे अनुसन्धान गर्दै धनुषा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार मृतक सुमितको हंसपुर–६ की १७ वर्षीया काजलकुमारी मण्डलसँग करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। घटनाको दिन सुमित काजललाई भेट्न उनको घर पुगेका थिए। सोही क्रममा काजलका काका परमेश्वर मण्डलले थाहा पाएपछि सुमितलाई नियन्त्रणमा लिई काजलका दाजु दिपेशकुमार मण्डललाई बोलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुवैले मिलेर सुमितका हात पछाडिबाट बाँधी कुटपिट गरेको र त्यसपछि मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काजलसहित उनका दाजु दिपेशकुमार मण्डल (२०) र काका परमेश्वर मण्डल (२९) लाई पक्राउ गरेको छ। प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा अन्य सामग्री बरामत गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया