चुनावी चहलपहलबीच शान्तिनगरको दलित बस्तीमा ‘लालपुर्जा’ नै मुख्य एजेन्डा
शारदा नगरपालिका–१ शान्तिनगरस्थित सीमान्तकृत दलित बस्तीमा चुनावी अभियान अन्तिम चरणमा पुग्दा पनि रौनक देखिएको छैन। जिल्लामा एउटै निर्वाचन क्षेत्रका लागि दुई स्वतन्त्रसहित १४ उम्मेदवार घरदैलोमा व्यस्त भए पनि करिब ३० घरपरिवार बसोबास गर्ने उक्त बस्तीमा कुनै उम्मेदवार नपुगेको स्थानीयको गुनासो छ।
पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै परिवारसँग आफ्नै नाममा लालपुर्जा छैन। हरेक निर्वाचनमा लालपुर्जा दिलाउने आश्वासन दोहोरिए पनि कार्यान्वयन नभएको भन्दै नागरिक निराश बनेका छन्। स्थानीय गौरी नेपालीले तीन दशकदेखि पहल गर्दा पनि स्वामित्वको कागज नपाएको बताइन्। “घर छ तर लालपुर्जा छैन, चुनावमा नेताहरू आश्वासन दिन्छन् तर अवस्था उस्तै छ,” उनको भनाइ छ।
सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भए पनि स्वामित्व नहुँदा असुरक्षाको भावना कायमै रहेको स्थानीय मित्रलाल नेपाली बताउँछन्। “घर आफ्नै नाममा छैन, कुनै दिन फिर्ता लिन्छन् कि भन्ने डर छ,” उनले भने।
जिल्लाभर चुनावी सभा र नाराले माहोल तातेको भए पनि शान्तिनगरको यो बस्तीमा नागरिकको एउटै माग छ आफ्नै घरको कानुनी स्वामित्व। मौन अवधि सुरु हुन लाग्दा पनि उम्मेदवार नआएपछि पुरानै आश्वासन दोहोरिने र लालपुर्जाको समस्या फेरि अधुरै रहने हो कि भन्ने चिन्ता यहाँका बासिन्दामा छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया