आज रातिदेखि मौन अवधि सुरु, ४८ घण्टा कडा आचारसंहिता लागू
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि आज (फागुन १८) राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुँदैछ। मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म यो अवधि कायम रहनेछ।
निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार, सभा–जुलुस, अन्तरक्रिया, गोष्ठी, राजनीतिक विज्ञापन तथा सामाजिक सञ्जालमार्फत पक्ष–विपक्षमा सन्देश प्रवाह गर्न पाइने छैन। टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रमसमेत निषेध गरिएको छ। मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ।
मतदाताले दबाब, प्रभाव र प्रचारको कोलाहलबाट मुक्त भई स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गर्न सकून् भन्ने उद्देश्यले मौन अवधि अनिवार्य गरिएको आयोगले जनाएको छ। मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदान केन्द्रमा बाधा, होहल्ला, भोजभतेर वा भीडभाड गर्न निषेध छ।
आयोगले सामाजिक सञ्जालमा फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति सजग रहन आग्रह गरेको छ। टेक कम्पनीहरूसँग सहकार्य गर्दै गलत सूचना नियन्त्रणका लागि आवश्यक तयारी गरिएको जनाइएको छ। सञ्चारमाध्यमलाई तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङ गर्न अपिल गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ।
निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र नभई लोकतान्त्रिक संस्कार र जनविश्वासको अभ्यास भएकाले आचारसंहिताको इमान्दारीपूर्वक पालना आवश्यक रहेको आयोगको भनाइ छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया