यूएईमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्यु, मध्यपूर्व तनावग्रस्त
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै प्रतिआक्रमण तीव्र पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) सहित कतार, ओमान, कुवेत र बहराइनमा ड्रोन आक्रमणका घटना बढेका छन्।
यूएईमा भएको पछिल्लो ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक रमेश श्रेष्ठका अनुसार ती नेपाली अबुधाबीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटीमा कार्यरत थिए र आक्रमणपछि उपचारका क्रममा निधन भएको हो। घटनाले त्यहाँ रहेका नेपाली समुदायमा गहिरो चिन्ता थपेको छ।
यूएई सरकारले अधिकांश ड्रोनहरू प्रतिरक्षा प्रणालीमार्फत विनाश (इन्टरसेप्ट) गरिएको दाबी गरे पनि अवस्था तनावपूर्ण रहेको बताइएको छ। अबुधाबी र दुबई आसपास अमेरिकी सैन्य उपस्थितिका कारण यूएई बढी लक्षित भएको अनुमान गरिएको छ। कतार र ओमानमा पनि सैन्य संरचना नजिक आक्रमणको सूचना आएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालय र नेपाली दूतावाससँग समन्वय गर्दै परिस्थितिको निगरानी गरिरहेको जनाएको छ। आवश्यक परे विशेष उद्धार उडान सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। आपतकालीन बैठकमार्फत सम्भावित जोखिम, उद्धार योजना र राहत व्यवस्थाबारे तयारी गरिएको संयोजक श्रेष्ठले जानकारी दिए।
हाल यूएईमा रहेका नेपालीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपय अत्यन्तै चिन्तित छन् भने ट्रान्जिटमा रहेका केही नेपाली एयरपोर्टमै रोकिएका छन्। यूएई सरकारले प्रभावित यात्रुहरूका लागि अस्थायी बसोबास र खानपानको व्यवस्था गरेको जनाएको छ।
एनआरएनएले सबै नेपालीलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र दूतावास तथा आधिकारिक स्रोतबाट आउने सूचनामात्र पछ्याउन आग्रह गरेको छ। स्थिति जटिल भए पनि समन्वय र सतर्कतामार्फत सुरक्षित व्यवस्थापन गर्ने प्रयास जारी रहेको बताइएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया