सफलता बोगटी
मानव अस्तित्वको सुरुवात र अन्त्य दुवै एउटा विवशताको जगमा उभिएको हुन्छ। हामी जन्मँदा जति असहाय र कमजोर थियौँ, मृत्युको अन्तिम प्रहरमा पनि उस्तै निरिह र कमजोर बन्छौँ। तर, यी दुई किनारको बीचमा बग्ने ‘जीवन’ नामको नदीमा हामीले कति पटक छालहरूसँग जुध्नुपर्यो, कति पटक पछारिनुपर्यो र कति पटक घाइते हुनुपर्यो— त्यसको फेहरिस्त लामो छ। हाम्रा मन र शरीरमा कोरिएका ती घाउका खतहरू नै वास्तवमा हाम्रा भोगाइको जीवन्त इतिहास हुन्। अचम्म त के छ भने, हामी ती घाउहरूलाई सुम्सुम्याउँदै कुनै ‘चमत्कार’को प्रतीक्षामा बसिरहन्छौँ। हामीलाई लाग्छ— कुनै अदृश्य शक्तिले ‘छु मन्तर’ गरेर हाम्रो भाग्यको ढोका खोलिदिनेछ। तर, यथार्थको धरातलमा चमत्कार कतै हुँदैन; चमत्कार त केबल होस, तत्परता र ध्यानको समिश्रण मात्र हो।
उत्तरी ध्रुवका देशहरूको जीवनशैलीलाई नियाल्ने हो भने सत्य बोध हुन्छ— त्यहाँका मानिसहरूले प्रतिकूलतालाई नै आफ्नो संस्कार बनाएका छन्। चिसो र अभावका बीच पनि उनीहरू मुस्कुराउन सक्छन्, किनकि उनीहरूले ‘जे छ, त्यसैमा रमाउने’ कला सिकेका छन्। हामी भने सामान्य अप्ठ्यारो आउनासाथ पलायनको बाटो खोज्छौँ, न्यानो सिरकभित्र लुकेर वास्तविकताबाट भाग्न खोज्छौँ। वास्तवमा, दुःख बाहिर कतै छैन, यो त हाम्रो अपेक्षा र यथार्थबीचको खाडल मात्र हो। क्षणिक मनोरञ्जन, धनको तृष्णा वा इन्द्रियगत सुखलाई चमत्कारी ठान्ने भ्रमले गर्दा नै हामी झन् बढी दुखी र विचलित बन्दै गएका छौँ।
हाम्रो जीवनको वास्तविक ‘हाकिम’ वा मार्गदर्शक को हो त? परापूर्वकालदेखि समुद्रमा दिशा हराएका यात्रीहरूलाई ‘ध्रुवतारा’ले सही बाटो देखाउँथ्यो, किनकि त्यो अटल र स्थिर थियो। हाम्रो जीवनमा पनि एउटा यस्तै अटल लक्ष्य र आन्तरिक स्थिरताको आवश्यकता छ। हामी सधैँ ‘भोलि’ आउने कुनै सुनौलो भाग्यको आशमा आजको सुन्दर समयलाई बेवास्ता गरिरहेका हुन्छौँ। हामी सोच्छौँ— अबका केही दिनमा ठूलो धन मिल्नेछ, गाडी-घोडा जोडिनेछ, वा विदेश भ्रमणको अवसर मिल्नेछ। तर, हामीले चिन्न नसकेको सत्य के हो भने, हामीले खोजेको त्यो ‘भाग्य’ त वर्तमानकै गर्भमा लुकेको हुन्छ। जीवन खुसी खोज्दै हिँड्ने यात्रा होइन, बरु जे आइपर्छ, त्यसमै रमाउन सक्ने सामर्थ्य हो।
हामीमध्ये धेरैको एउटा खराब बानी छ— जिम्मेवारीबाट पन्छिने। “यो काम बिग्रियो भने म जिम्मेवार छैन” भन्ने मनोविज्ञानले हामीलाई सधैँ कमजोर बनाइरहेको हुन्छ। जब हामी आफ्नो कर्मको पूर्ण उत्तरदायित्व लिन डराउँछौँ, तब हामीले आफ्नो आन्तरिक शक्ति (Inherent Power) अरूको हातमा सुम्पिरहेका हुन्छौँ। आफ्नो जीवनको बाटोमा अरू नै हिँडिदिए हुन्थ्यो भन्ने चाहना राख्नु भनेको आफ्नो अस्तित्वलाई सित्तैमा विसर्जन गर्नु हो। इतिहासका सफल योद्धाहरू कुनै अलौकिक शक्ति लिएर जन्मेका होइनन्, उनीहरूले त केबल “म यो काम फत्ते गर्छु” भन्ने एकोहोरो संकल्प र पूर्ण जिम्मेवारीको मार्ग रोजेका मात्र हुन्।
हात्तीको एकाग्रता र प्रफुल्लता एउटा ठूलो पाठ हो। बाहिर जस्तोसुकै कोलाहल भए पनि हात्ती आफ्नै लयमा स्थिर रहन्छ। हाम्रा पाँच ज्ञानेन्द्रियहरूले हाम्रो विचार र ध्यानलाई खल्बल्याउन खोज्छन्, तर जसले ती इन्द्रियहरूलाई वशमा राख्छ, उसैले आन्तरिक ऊर्जामाथि नियन्त्रण पाउँछ। मन चञ्चल हुनासाथ हामी आफ्नै खेलमा आफैँ हार्न पुग्छौँ। त्यसैले, “म सधैँ स्थिर र निश्चल छु” भन्ने भाव भित्रैबाट जाग्नु आवश्यक छ।
हामी अक्सर एउटा सानो पराजयबाट डराएर बाटो मोड्ने गर्छौँ। एउटा असफलताले हामीलाई यसरी थचक्कै बसाउँछ कि हामीले वर्षौँदेखिको पेसा वा सपना चटक्कै छाडिदिन्छौँ। तर, हिमाल आरोहीलाई सोध्नुहोस्— उनीहरूलाई मौसम र बाटोले सधैँ साथ दिँदैन, तैपनि उनीहरूको लक्ष्य डगमगाउँदैन। एउटा संगीतकारले एउटा सानो धुनलाई पूर्णता दिन वर्षौँसम्म कठोर अभ्यास गर्छ। सफलताको कुनै ‘सर्टकट’ हुँदैन। ‘अमेरिकन साइकोलोजिकल एसोसिएसन’को शोधले पनि यही भन्छ कि प्रतिकूलता भोग्नेहरूको जीवन पछि गएर अझ सुन्दर र व्यावहारिक बन्छ।
पराजय त वास्तवमा हाम्रो जीवनको सबैभन्दा ठूलो ‘गुरु’ हो। पराजयबाट भाग्ने होइन, यसलाई बोकेर अघि बढ्न सक्नुपर्छ। पराजयपछिको ‘अभ्यास, अभ्यास र पुनः कडा अभ्यास’ नै विजयको पहिलो पाइला हो। सफलताको पालो पर्खनु पर्दैन, किनकि निरन्तरको अभ्यास आफैँमा सफलताको राजमार्ग हो। मनका साना र हल्का प्रयासले जीवनमा कुनै ठूलो परिवर्तन ल्याउँदैनन्; सफलताको अचुक ओखती त केबल ‘निरन्तरता’ मात्र हो।
यो संसारमा कर्मको कुनै जात हुँदैन— न यो असल हुन्छ, न खराब। यो त केबल हाम्रो अभ्यास र समाजको मूल्याङ्कन मात्र हो। त्यसैले, कसैको घृणाले आत्तिने र कसैको प्रशंसाले मात्तिने काम बन्द गर्नुहोस्। जे छ, त्यसमै सत्य खोज्नुहोस्। मन र शरीरलाई एकाकार गरेर एउटै लक्ष्यमा समर्पित हुनुहोस्। आफ्नो कर्ममा यति लीन हुनुहोस् कि तपाईँको सफलताले नै तपाईँको महानताको गाथा गाओस्। “ऐनकेन प्रकारेण महापुरुष भव” अर्थात्, कर्मको पवित्रता र अभ्यासको बलले जसरी भए पनि महानताको शिखर चुम्नुहोस्।
लेखिका: सफलता बोगटी (स्नातकोत्तर, राजनीतिशास्त्र)
तपाईको प्रतिक्रिया