पछिल्ला दुई–तीन दिनयता काठमाडौं उपत्यकाको वातावरण धुम्म बनेको छ। आकाश धमिलो हुँदा घाम राम्रोसँग लाग्न सकेको छैन भने कतिपय स्थानमा सिमसिमे वर्षा भए पनि उल्लेख्य वर्षा हुन सकेको छैन। यसले दैनिक जनजीवनमा आंशिक प्रभाव पारेको छ भने दृश्य क्षमता घट्दा यातायात र हवाई उडानमा समेत सामान्य असर देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस्तो अवस्था मुख्यतः बढ्दो प्रदूषण र कमजोर मौसम प्रणालीका कारण देखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार लामो समयदेखि वर्षा नहुनु, देशका विभिन्न स्थानमा लागेका डढेलो तथा सवारीसाधनबाट निस्कने धुलो–धुवाँ उपत्यकामा प्रवेश गरेर अड्किँदा वायु प्रदूषण बढेको हो। प्रदूषण हट्नका लागि पर्याप्त वर्षा वा बलियो हावा आवश्यक पर्ने भए पनि हालसम्म त्यस्तो अवस्था बनेको छैन।
स्विट्जरल्यान्डको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ। यहाँको एक्यूआई १७९ पुगेको छ भने भारतको कोलकाता १७३ र पाकिस्तानको लाहोर १६६ एक्यूआईसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
मौसमविद्का अनुसार तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली सक्रिय भएकाले देशका केही प्रदेशमा वर्षाको सम्भावना देखिए पनि मौसम पर्याप्त सक्रिय नभएकाले बादल मात्रै जमेर बसेको अवस्था छ। यसै कारण काठमाडौंको आकाश खुल्न सकेको छैन।
जल तथा मौसम विभागका अनुसार यो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ। वातावरण विभागले पनि काठमाडौं, पोखरा लगायत ठूला सहर र तराईका धेरै स्थानमा वायु प्रदूषण बढेको जनाएको छ।
स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई बढी जोखिम हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्न सुझाव दिइएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया