२०८२ साल फाल्गुन २६
हाइस्पीड सम्वाददाता
नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा परेका छन्। अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्स ले सार्वजनिक गरेको वर्ल्ड र्याङ्किङअनुसार चौधरीको कुल सम्पत्ति करिब २.१ अर्ब अमेरिकी डलर पुगेको छ।
गत वर्ष अर्थात् सन् २०२५ मा उनी १७६३औँ स्थानमा थिए। पछिल्लो एक वर्षमा चौधरीको सम्पत्ति करिब १० करोड डलरले वृद्धि भएको फोर्ब्सले जनाएको छ।
दक्षिण एसियामा भारतीय अर्बपतिहरू बाहेक अर्बपतिहरूको सूचीमा पर्ने एक मात्र व्यक्ति चौधरी नै हुन्। सार्क क्षेत्रका अन्य देशका कुनै पनि व्यक्तिको नाम फोर्ब्सको अर्बपतिहरूको सूचीमा परेको छैन।
यसअघि सन् २०१९ मा चौधरी १३४९औँ स्थानमा थिए। तर कोभिड–१९ महामारी को समयमा उनको सम्पत्तिमा केही गिरावट आएको थियो। पछिल्ला वर्षहरूमा उनले आफ्नो व्यापार विस्तार गर्दै सम्पत्ति पुनः बढाउन सफल भएका छन्।
फोर्ब्सको अर्बपतिहरूको सूचीमा भने अमेरिकी उद्योगपति एलन मस्क पहिलो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब डलर रहेको छ। दोस्रो स्थानमा अमेरिकी उद्यमी ल्यारी पेज रहेका छन्। फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरूमा सबैभन्दा धेरै संख्या अमेरिका, चीन र भारतका रहेका छन्।
तपाईको प्रतिक्रिया