२०८२ साल फाल्गुन २७
हाइस्पीड सम्वाददाता
विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, सात महिनामै २३ प्रतिशत वृद्धि
नेपालको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म) को वित्तीय विवरण अनुसार विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको हो।
विवरणअनुसार असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म आइपुग्दा २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा गणना गर्दा पनि सो अवधिमा सञ्चिति १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकसँग रहेको छ भने बाँकी ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको छ।
हालको विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। वर्तमान आयातको अवस्थालाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले करिब २१.३ महिनाको वस्तु आयात र १८ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
तपाईको प्रतिक्रिया