– सफलता बोगटी
हामी प्रायः आफ्नो असफलता वा वर्तमान अवस्थाको दोष परिस्थिति, परिवार, समाज वा राष्ट्रलाई दिएर उम्किन खोज्छौँ । “म गलत परिवारमा जन्मिएँ,” “मेरो देश गरिब छ,” वा “मैले राम्रो विद्यालय र साथीभाइ पाइनँ” भन्ने तर्कहरू वास्तवमा हाम्रो मानसिक कमजोरीका उपज हुन् । अरूमा दोष देख्नु भनेको आफ्नो जीवनको लगाम अरूको हातमा सुम्पनु हो । मनोविज्ञानको भाषामा भन्नुपर्दा, जबसम्म हामी आफ्नो जीवनको पूर्ण जिम्मेवारी आफैँ लिँदैनौँ, तबसम्म रूपान्तरण सम्भव छैन । बाह्य घटना र मानिसहरूको व्यवहार हाम्रो नियन्त्रणभन्दा बाहिर हुन सक्छ, तर ती घटनाप्रति हामीले गर्ने प्रतिक्रिया र हाम्रो अठोट पूर्णतः हाम्रै नियन्त्रणमा हुन्छ ।
सङ्घर्ष र दबाबले नै मानिसलाई साधारणबाट असाधारण बनाउँछ । जसरी एउटा फलाम भट्टीको रापमा खारिएर मात्र बलियो ‘स्पात’ बन्छ, त्यसरी नै जीवनका चुनौतीहरूले हामीलाई दह्रो बनाउँछन् । दोस्रो विश्वयुद्धको समयमा विन्स्टन चर्चिलले देखाएको साहस कुनै दैवी शक्ति थिएन, बरु त्यो कैयौँ असफलता र प्रतिकूलताबाट प्राप्त भएको आत्मबल थियो । हामीभित्र पनि त्यस्तै अदम्य साहस लुकेर बसेको छ, तर विडम्बना ! हामीले त्यसलाई चिन्न र बाहिर निकाल्न सकेका छैनौँ । ससाना अवरोधमै हार मान्ने प्रवृत्तिले हाम्रो वास्तविक क्षमतालाई गुम्स्याएर राखेको छ ।
आज धेरै मानिसहरू ‘अन्डर-इन्भोइसिङ’ (Under-invoicing) को सिकार भएका छन्, अर्थात् उनीहरूले आफ्नो वास्तविक मूल्य र क्षमतालाई कम आँकेका छन् । समाज र परिस्थितिले तोकिदिएको सानो घेराभित्रै आफूलाई सीमित राख्नु नै आफ्नो मूल्य घटाउनु हो । अब ‘ओभर-इन्भोइसिङ’ (Over-invoicing) मा जानु आवश्यक छ—आफ्नो आत्मविश्वासलाई उच्च बनाउनु र आफूभित्रको विशाल ऊर्जालाई चिन्नु नै सफलताको पहिलो पाइला हो । तपाईं आफैँमा एउटा विशाल ‘हाइड्रोजन बम’ जस्तै शक्तिशाली हुनुहुन्छ । तपाईंको व्यक्तित्व र साहस यति प्रभावशाली हुनुपर्छ कि अरूले तपाईंको दृढता देख्नेबित्तिकै सम्मान गरुन् । त्यसका लागि तपाईं पड्किनु वा हिंसात्मक हुनुपर्दैन, मात्र आफ्नो अस्तित्वको बोध गराए पुग्छ ।
कतिपय मानिसहरू जीवनभर सङ्घर्षको ‘भट्टी’ मा मात्र जलिरहन्छन्, तर त्यहाँबाट खारिएर स्पात बन्ने लक्ष्य बिर्सिन्छन् । सङ्घर्ष आफैँमा साध्य होइन, यो त एउटा प्रक्रिया हो जसले तपाईंलाई ठूलो कार्यका लागि तयार गर्छ । एक पटक स्पात बनिसकेपछि त्यसले युगौँसम्म आफ्नो प्रभाव छोड्छ । त्यसैले, सानो दुःखमा गुनासो गरेर बस्ने कि ती चुनौतीलाई ईन्धन बनाएर आफ्नो साहसको दियो बाल्ने ? छनोट तपाईंकै हो । याद राख्नुहोस्, महानता बाहिर कतै छैन, यो केवल तपाईंभित्रको साहसलाई ब्युँझाउने प्रतीक्षामा छ ।
लेखक बोगटी राजनीतिशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ र सामाजिक–राजनीतिक मुद्दाहरूमा कलम चलाउनुहुन्छ ।
तपाईको प्रतिक्रिया