ढोंगको पर्खालभित्र निसासिएको आधुनिक जीवन
- सफलता बोगटि
- २०८२ फागुन २८ बिहीबार
सफलता बोगटी
भाग्ने भनेको आफ्नो कमजोरी छोप्ने ज्यादै कमजोर कला हो। हामी अक्सर समस्याहरूबाट लुक्न खोज्छौँ, तर भागेर होइन डटेर र लुकेर होइन अगाडि परेर मात्र हामीले हाम्रो जीवनलाई सार्थकताको कसीमा उतार्न सक्छौँ। हाम्रो समाजमा हामीले भगवानलाई अति चमत्कारिक र भुसुनालाई अति तुच्छ ठान्यौं, तर सत्य त के हो भने ती दुवै तपाईं हामी जस्तै प्राकृतिक अस्तित्व मात्र हुन्। जब अस्तित्वको धरातल एउटै छ भने, अरू मानिसहरूको अनावश्यक डर र आडम्बरको के नै अर्थ रह्यो र?
मानव स्वभावको गहिराइलाई बुझ्न चौधौँ शताब्दीका राजनीतिक दार्शनिक निकोलो मेकियावेलीका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक लाग्छन्। उनले मानिसलाई स्वभावैले कामुक, नीच, पतित, दुष्ट र स्वार्थी प्राणीका रूपमा चित्रण गरेका छन्। हामीले समाजमा देख्ने गरेका धर्म-कर्म, न्याय, सामाजिक सेवा र दान-पुण्यका धेरैजसो कार्यहरू वास्तवमा अन्तस्करणदेखि गरिएका हुँदैनन्; ती त केवल समाजलाई देखाउनका लागि गरिने ‘लोकाचार’ मात्र हुन्। मानिस चाहे समाजको दास होस् या शक्तिशाली मालिक, उसभित्र संसारको सर्वोच्च सत्ता आफ्नो अधीनमा रहोस् र आफू बाँचुन्जेल संसारकै अधिपति बनेर शासन गरौँ भन्ने तीव्र जिजीविषा जीवितै रहेको हुन्छ। एउटा मानिसभित्र सरलताको तुलनामा जटिलताको भारी निकै ठुलो हुन्छ। त्यसैले यो संसारमा कसैलाई ठिक वा बेठिकको तराजुमा जोख्नुभन्दा उसको प्राकृतिक स्वभावलाई बुझेर व्यवहार गर्नु श्रेयस्कर हुन्छ। बाघलाई गाई सम्झिएर गरिने व्यवहारले अन्ततः आफैलाई क्षति पुऱ्याउँछ।
हामीले आफ्ना साना उपलब्धिहरूमा रमाउँदा रमाउँदै पनि जीवनका सरल पक्षहरूलाई जटिल बनाउने गल्ती गरिरह्यौं। हामीलाई लाग्छ कि कुनै कुरालाई कठिन बनाउनु नै ठुलो काम हो, तर यही भ्रमले गर्दा हामी अरूसँग निहुँ खोज्न र हरेक विषयलाई गिजोल्न थाल्छौँ। जति-जति हामीले विषयवस्तुलाई जटिल बनाउँदै लैजान्छौँ, हाम्रो सोचाइमा पनि त्यस्तै नकारात्मक परिवर्तन आउन थाल्छ। जटिलताले जीवनको सहजतालाई क्रुरतापूर्वक हत्या गरिदिन्छ र हामीभित्रको सरलता कतै हराउँछ। आजको आधुनिक समाज ‘फोमो’ (FOMO) अर्थात् केही कुरा छुट्छ कि भन्ने डरको बन्दी बनेको छ। एक दिन फेसबुक चलाउन नपाउँदा वा अरूको पोस्टमा प्रतिक्रिया दिन नपाउँदा हामी पछि परिन्छ कि भनेर अत्तालिन्छौँ। जाबो अरूसँग भौतिक वा डिजिटल रूपमा छुट्टिँदैमा जीवन पछि पर्दैन, तर हामीले आफूलाई यस्तो कृत्रिम जालोमा फसाएका छौँ कि साधारण हुनुलाई नै ‘बोर’ मान्न थालेका छौँ। जबकि वास्तविकता त के हो भने, अति साधारण हुनु नै अति विशिष्टताको लक्षण हो र यही साधारणपनाको फल ‘बोधिसत्व’ हो।
तर्क र सिद्धान्तको आडम्बरमा मानिस कतिसम्म अन्धो हुन्छ भन्ने एउटा रोचक कथा छ। एकजना विद्वानको जुत्ता फाटेछ। उनले कुन जुत्ता किन्ने भनेर १५ दिनसम्म जुत्तासम्बन्धी अनेकौँ पुस्तकहरू अध्ययन गरे। पुस्तकको ज्ञानअनुसार उनले आफ्नो खुट्टाको नाप बराबरको एउटा सिन्को (छेस्को) बनाए। तर, जब उनी बजार पुगे, उनले त्यो नापको सिन्को घरमै बिर्सेछन्। अचम्मको कुरा त के भने, उनीसँग आफ्नै खुट्टा त साथै थियो, तर उनी पुस्तकको नियममा यति अडिग थिए कि खुट्टाले जुत्ता नाप्नुको साटो सिन्को लिन नाङ्गै खुट्टा घर फर्किए। उनी फर्कुन्जेल बजार बन्द भइसकेको थियो। भोलिपल्ट जब उनी सिन्को लिएर पसल पुगे, पसलेले भन्यो— “हजुरको खुट्टा साथै हुँदाहुँदै यो सिन्को किन चाहियो?” विद्वानले जवाफ दिए— “पुस्तकमा त सिन्काको नापअनुसार मात्र किन्नु भनेको छ नि!” हामी पनि धेरैजसो जीवनका सहज अनुभवहरूलाई छाडेर यस्तै किताबी सिन्काहरूले जीवन नाप्ने कोसिस गरिरहेका हुन्छौँ।
हामी अरूको कमजोरी देख्नमा निकै सिपालु छौँ। अरूको टाउकोको जुम्रा देख्ने तर आफ्नो आङको भैँसी नदेख्ने प्रवृत्ति नै हाम्रो वास्तविक कमजोरी हो। जब हामी अरूमा केवल दासत्व वा गल्ती मात्र फेला पार्छौँ, तब हाम्रो विवेकमा खिया लाग्न थाल्छ। एउटा स्वस्थ मानिसले अरूलाई औँला उठाउनुअघि आफ्ना गल्तीहरू चिन्न सक्नुपर्छ। उदाहरणका लागि, शौचालय फोहोर भयो भनेर गाली गर्नुअघि त्यो फोहोर हुनुमा आफ्नो कति प्रतिशत हिस्सा छ भनेर सोच्ने हिम्मत कमैमा हुन्छ। विश्वप्रसिद्ध तर्कशास्त्री बर्टेन्ड रसेल भन्छन्— “जोभित्र चोरको भावना लुकेर बसेको हुन्छ, उसैले चोरीको सबैभन्दा बढी निन्दा गर्छ।” हामी भित्र जे छौँ, अक्सर त्यसकै उग्र विरोध वा समर्थनमा उत्रिन्छौँ। भ्रष्टाचारको विरोध गर्नेहरूमा नै कतिपय अवस्थामा भ्रष्ट स्वभाव लुकेको हुन्छ। हामी भित्र एउटा कुरा हुन्छौँ र बाहिर अर्को देखिन खोज्छौँ, यही नक्कलीपनले गर्दा हामीले भगवान र भुसुनाको अन्तर नै ठम्याउन सकेका छैनौँ।
साँचो जीवन र सार्थकताको पाठ त हामीले ती माछा मार्ने माझीहरूबाट सिक्नुपर्छ। उनीहरू बिहानै समुन्द्रमा जाँदा आज यति माछा मार्छु भन्ने अंकगणित लिएर जाँदैनन्। न त उनीहरूलाई कुनै सफ्टवेयरले नियन्त्रण गरेको हुन्छ। कहिले जाल भरिएर आउँछ, कहिले रित्तै हात। तर, बेलुका जब परिवारसँग बसेर माछाको झोलसँग भात खान्छन्, त्यो बेलाको तृप्ति कुनै आधुनिक विज्ञानले मापन गर्न सक्दैन। माझीहरू मृत्युसँग जिस्कन महासागरको गहिराइमा पुग्छन्, तर उनीहरूको उद्देश्य मृत्यु होइन, जीवनप्रतिको अगाध प्रेम हो। प्रकृतिसँग मिल्न सक्नु नै जीवनको सार्थकता हो। सन् १९७२ मा एन्डिज पर्वतमा भएको हवाई दुर्घटनामा बचेका मानिसहरूको संघर्षलाई चित्रण गरिएको ‘एलिभ’ (Alive) फिल्मले पनि यही भन्छ— मानिसले प्रत्येक पाइलामा मृत्युलाई झुक्काएर भए पनि जिउने लालसा राख्छ।
१०० प्रतिशतको अंकमा बाँधेर हेर्नु एउटा भ्रम मात्र हो। विग्रिएका कुराहरूलाई पूर्ण रूपमा सुधार्न सकिँदैन, तर व्यवहारमा भने इमानदार प्रयास गर्न सकिन्छ। पुतलीहरूलाई हेर्नुहोस्, उनीहरू कुनै गुनासो गर्दैनन्, न त आफ्नो उमेरको चिन्ता गर्छन्। उनीहरू केवल प्रकृतिको हत्केलामा प्रसन्नता बाँड्छन्। हामीले पनि जीवनका कृत्रिम जटिलताहरूलाई त्यागेर माझीको जस्तै इमानदारी र पुतलीको जस्तै सहजता अँगाल्न जरुरी छ। आफ्ना कमजोरीहरूबाट भागेर होइन, तिनलाई स्वीकार गरेर र डटेर सामना गरेर मात्र हामी एउटा महान् र सरल जीवनको मालिक बन्न सक्छौँ ।
(सफलता बोगटी एक प्रखर नीति विश्लेषक, परराष्ट्र मामिला अनुसन्धानकर्ता र मानव अधिकार अभियन्ता हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (MA) र गीता माता कलेजबाट व्यवस्थापनमा स्नातक गर्नुभएको छ।
राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय बोगटी राष्ट्रिय विद्यार्थी संसद्को अध्यक्षको रूपमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। उहाँका लेख तथा विश्लेषणहरू राष्ट्रिय पत्रिकाहरूमा नियमित प्रकाशित हुने गर्छन्, जसमा विशेषगरी नेपाल-चीन सम्बन्ध, युवा नेतृत्व र महिला सशक्तीकरणका मुद्दाहरू प्रखर रूपमा उठ्ने गर्दछन्।
दार्शनिक चेत र अनुसन्धानमा आधारित उहाँका लेखहरूले समाजको मनोविज्ञान र राजनीतिक पाटोलाई सूक्ष्म ढङ्गले केलाउने गर्दछन्। उहाँ हाल सञ्चार व्यवस्थापन र नीतिगत पैरवीको क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ।)
तपाईको प्रतिक्रिया