सफलता बोगटी (Safalata Bogati) , २०८२ चैत १ गते , काठमाडौँ , (Highspeed Nepal) हामी प्रायः आफ्नो ऊर्जा र अमूल्य समय अरूको आलोचना गर्न, अरूका गल्तीहरू कोट्याउन र अर्काको जीवनको समीक्षा गर्नमै खर्चिरहेका हुन्छौँ। अरूको कुरा काट्नु वा कसैलाई नराम्रो भन्नु हाम्रो लागि क्षणिक मनोरञ्जन वा ‘मज्जा’ को विषय त होला, तर यसको भित्री पाटो निकै भयानक र आत्मघाती छ। आधुनिक मनोविज्ञान र जीवविज्ञानका अनुसार, जब हामी कसैको प्रति नकारात्मक भाव राख्छौँ वा आलोचनामा उत्रिन्छौँ, हाम्रो मस्तिष्कले शरीरमा एक प्रकारको ‘स्ट्रेस हार्मोन’ वा विषाक्त रसायनहरू उत्सर्जन गर्न थाल्छ। यी रसायनहरूले हाम्रो शरीरको स्नायु प्रणालीमा नकारात्मक हलचल पैदा गर्छन्, जसको प्रत्यक्ष र दीर्घकालीन असर हाम्रो मुटुको चाल र पाचन प्रक्रियामा पर्ने गर्दछ। धेरैजसो ग्यास्ट्रिक, अपच र मुटुसम्बन्धी समस्याहरूको जड हाम्रो खानपान मात्र नभएर हाम्रो नकारात्मक सोच र आलोचनात्मक स्वभाव पनि हो।
मनोवैज्ञानिक तथ्यहरूले के पनि संकेत गर्छन् भने, यदि कसैलाई हरसमय अरूको खोट देख्ने वा आलोचना गर्ने तीव्र इच्छा जागृत भइरहन्छ भने, त्यो उसको शरीरमा रहेको विषाक्त हर्मोनको अधिकताको लक्षण हो। यो स्वभाव केवल आजको उपज मात्र नभएर हाम्रो वंशाणुगत गुण वा पुर्खाहरूबाट सरेर आएको एउटा गहिरो छाप पनि हुन सक्छ। यदि तपाईंको स्वभाव शान्त, सहयोगी, परोपकारी र अनावश्यक तर्क-वितर्कबाट टाढा रहने खालको छ भने, यसको श्रेय पनि तपाईंको पुर्खा र उहाँहरूबाट प्राप्त सकारात्मक डिएनए (DNA) लाई नै जान्छ। रोचक कुरा त के छ भने, यदि बाबुआमामध्ये एक जनामा अपराधी वा कठोर मानसिकता र अर्कोमा परोपकारी वा नरम स्वभाव छ भने, उनीहरूबाट जन्मने सन्तानमा यी दुवै परस्पर विरोधी गुणहरूको सम्मिश्रण पाइन सक्छ, जसले गर्दा मानिस कहिले अति असल त कहिले अति कठोर बन्ने गर्दछ।
आफ्नो शरीरभित्र रहेका यस्ता खराब र घातक हर्मोनहरूलाई सकारात्मक वा असल हर्मोनमा बदल्नका लागि हामीले बाहिरी प्रशंसाको आशा त्यागेर आफैले आफैलाई ‘धन्यवाद’ दिन सक्ने गरी कर्महरू गर्नुपर्छ। हामीले गर्ने हरेक कार्यको श्रेय वा जस अरूलाई दिनुभन्दा पनि त्यसको आत्म-सन्तुष्टि आफैले लिन सक्नुपर्छ। जब हामी कुनै राम्रो काम गर्छौँ, तब अरूले पुरस्कार देला भनेर कुर्नुको सट्टा आफैले आफैलाई पुरस्कृत गर्ने र सम्मान गर्ने बानी बसाल्नुपर्छ। किनकि मनोविज्ञानको एउटा अकाट्य सत्य के हो भने—तपाईंले आफूलाई जुन रूपमा स्वीकार गर्नुहुन्छ, संसारले पनि तपाईंलाई त्यही रूपमा देख्न थाल्छ। तपाईंले जबसम्म आफूलाई भित्रैबाट एक ‘विद्वान’ वा ‘सक्षम’ व्यक्तिको रूपमा स्थापित गर्नुहुन्न, तबसम्म बाहिरी दुनियाँले तपाईंको विद्वतालाई स्विकार्दैन। यदि तपाईं व्यापारमा सफल हुन चाहनुहुन्छ भने, सबैभन्दा पहिले आफ्नो मानसिकतालाई एक सफल ‘व्यापारी’ को जस्तै दृढ बनाउनुपर्छ। जीवनमा पहिले असफलता भोगेर, त्यसबाट पाठ सिक्दै जब तपाईं सफलताको सिँढी चढ्नुहुन्छ, तब मात्र तपाईंको व्यक्तित्वमा एउटा अलौकिक आकर्षण पैदा हुन्छ। यस्तो रूपान्तरणपछि मात्र सामाजिक सञ्जाल वा वास्तविक जीवनमा तपाईंको अनुसरण गर्ने र प्रशंसा गर्ने मानिसहरूको भिड त्यसरी नै बढ्न थाल्छ, जसरी आजको समयमा टिकटकका भाइरल भिडियोहरूमा फलोअर्स बढ्छन्। त्यसैले, अरूको छिद्रान्वेषण गरेर आफ्नो स्वास्थ्य र भविष्य बिगार्नुभन्दा आफ्नै स्वभावको परिमार्जन गरी ‘स्व-निर्मित’ व्यक्तित्व बन्नु नै बुद्धिमानी हो।( सफलता बोगटी एक कुशल नीति विश्लेषक, परराष्ट्र मामिला अनुसन्धानकर्ता तथा मानव अधिकार अभियन्ता हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएकी बोगटी विगत लामो समयदेखि महिला सशक्तीकरण, युवा नेतृत्व र सामाजिक रूपान्तरणका अभियानहरूमा सक्रिय हुनुहुन्छ)
तपाईको प्रतिक्रिया