सामाजिक आन्दोलनबाट चिनिएका Pukar Bam प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। लामो समय सडक आन्दोलन र नागरिक अधिकारका मुद्दामा सक्रिय रहेका उनी करिब १२ वर्षको चुनावी प्रयासपछि संसद् पुग्न सफल भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बमले २९ हजार १४२ मत प्राप्त गर्दै कांग्रेसका सचिन तिमल्सेना र एमालेका राजन भट्टराईलाई पराजित गरे। तिमल्सेनाले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत पाए। यसअघि कांग्रेस सभापति गगन थापाले जित्दै आएको क्षेत्रमा फराकिलो मतान्तरले जित निकाल्दै बम संसद् प्रवेश गरेका हुन्।
कोरोना महामारीको समयमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै १२ दिनसम्म अनसन बसेका बम महामारीका बेला विपन्न नागरिकलाई निःशुल्क खाना वितरण अभियानमा पनि सक्रिय थिए। ‘अकुपाइ बालुवाटार’ आन्दोलनदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीको आन्दोलनमा समेत उनी अग्रपंक्तिमा देखिएका थिए। यही कारण उनलाई ‘सडक सत्याग्रही’को उपनाम पनि दिइएको थियो।
कैलालीको धनगढीमा जन्मिएका बम २०५९ सालमा डाक्टर बन्ने सपना लिएर काठमाडौं आएका थिए। तर सामाजिक न्यायका मुद्दामा सक्रिय हुँदै उनले आफ्नो जीवनको बाटो मोडे। इराकमा नेपाली कामदारको हत्या भएको घटनापछि राहत र उद्धार कार्यमा सक्रिय बनेपछि उनी सामाजिक अभियानमा अझ गहिरो रूपमा संलग्न भए। हाल उनी ‘सोसल वर्क’ विषयमा पीएचडी गर्दै छन् र शिक्षण पेशासँग पनि जोडिएका छन्।
राजनीतिक रूपमा भने उनी वैकल्पिक राजनीतिको अभियानसँग जोडिएका छन्। विवेकशील नेपाली दलका संस्थापकहरूमध्ये एक रहेका बमले उज्ज्वल थापासँग मिलेर वैकल्पिक राजनीतिको अभियान अघि बढाएका थिए। पछिल्लो समय विभिन्न वैकल्पिक शक्तिहरू, युवा अभियान र नागरिक आन्दोलनको समर्थनले रास्वपाले ठूलो जनसमर्थन पाएको उनको निष्कर्ष छ।
निर्वाचन जितेपछि पनि बमले उत्सव वा र्याली नगरी मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियान सुरु गरेका छन्। ‘पदयात्राः वाक विथ पुकार’ नामक कार्यक्रममार्फत उनी नागरिकको घरदैलोमा पुगेर सुझाव संकलन गरिरहेका छन्।
बमका अनुसार आगामी दिनमा शान्ति, न्याय, विकास, शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ बनाउने तथा विदेशिएका युवालाई स्वदेश फर्काउने विषय मुख्य प्राथमिकता हुनेछन्। उनले जनताको अपेक्षा पूरा नभए सदनमै सत्याग्रह गर्न पनि तयार रहेको बताएका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया