२०८२ साल चैत्र ५
हाइस्पीड सम्वाददाता
व्रत बस्दा के खाने ? स्वास्थ्य र पोषणलाई ध्यानमा राख्दै सही आहार छनोट गर्न विज्ञको सुझाव
धार्मिक आस्था र संस्कृतिसँग जोडिएको व्रत (उपवास) केवल आध्यात्मिक अभ्यास मात्र नभई स्वास्थ्यसँग पनि सम्बन्धित हुन्छ। तर व्रत बस्दा के खाने भन्ने विषयमा सही जानकारी नहुँदा धेरैले कमजोरी, थकान र स्वास्थ्य समस्या समेत भोग्ने गरेका छन्। पोषण विज्ञहरूका अनुसार व्रतका बेला शरीरलाई आवश्यक ऊर्जा, पानी र पोषक तत्व उपलब्ध गराउने खाद्य पदार्थको सही छनोट अत्यन्त आवश्यक हुन्छ।
विज्ञहरूका अनुसार व्रत बस्दा फलफूल सबैभन्दा उपयुक्त आहार मानिन्छ। केरा, स्याउ, अनार, पपाया जस्ता फलहरूले शरीरलाई प्राकृतिक ऊर्जा दिनुका साथै पानीको कमी हुन दिँदैनन् । यस्तै, बदाम, काजु, किसमिस, ओखरजस्ता ड्राइफ्रुटहरूमा प्रोटिन र राम्रो बोसो पाइने भएकाले लामो समयसम्म ऊर्जा कायम राख्न मद्दत गर्छन् ।
व्रतका बेला दही, दूध वा दहीसँग मिसाएर खाने खानेकुरा पनि लाभदायक मानिन्छ। यस्ता प्रोटिनयुक्त खानेकुराले शरीरलाई बलियो बनाउनुका साथै ऊर्जा स्तर स्थिर राख्न सहयोग पुर्याउँछन् । साथै, मह, खजुर वा प्राकृतिक मिठाइ प्रयोग गर्दा शरीरलाई तुरुन्त ऊर्जा प्राप्त हुन्छ, तर अत्यधिक चिनीजन्य पदार्थ भने टार्नुपर्ने सुझाव दिइन्छ ।
विशेषज्ञहरूका अनुसार व्रत बस्दा पानीको मात्रा पर्याप्त राख्नु अत्यन्त जरुरी हुन्छ। शरीरमा पानीको कमी भएमा थकान, टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्। साथै, काक्रो, तरबूजा जस्ता पानीयुक्त खानेकुराले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छन्।
अनुसन्धानहरूले देखाएअनुसार सही तरिकाले गरिएको उपवासले रक्तचाप नियन्त्रण, तौल व्यवस्थापन र मेटाबोलिज्म सुधारमा सहयोग गर्न सक्छ । तर पोषण सन्तुलन नगरी बसिएको व्रतले उल्टै कमजोरी, चक्कर आउने र पोषण अभाव निम्त्याउन सक्छ।
यसैले विज्ञहरू भन्छन्—व्रत बस्नु हो भने भोकै बस्ने होइन, सन्तुलित र हल्का आहार खाने अभ्यास गर्नुपर्छ। फलफूल, ड्राइफ्रुट, दही, पानीयुक्त खाना र प्राकृतिक स्रोतबाट ऊर्जा लिने बानीले व्रतलाई स्वस्थ र सुरक्षित बनाउन मद्दत गर्छ।
तपाईको प्रतिक्रिया