२०८२ साल चैत्र ७
हाइस्पीड संवाददाता
“सर्वोच्चको अन्तरिम आदेश: किशोरी साहलाई कालोसूचीमा राख्ने निर्णय रोक”
सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कर्जा सूचना केन्द्रको पत्रका आधारमा साह कालोसूचीमा नरहेको स्पष्ट भएपछि यस्तो आदेश जारी गरेको हो। कर्जा सूचना केन्द्रले २८ फागुन २०८२ मा पठाएको पत्रमा साहको नाम कालोसूचीमा नभएको उल्लेख गरेको थियो, जसका आधारमा अदालतले कालोसूचीसम्बन्धी निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको छ।
यसअघि प्राविधिक त्रुटिका कारण कालोसूचीमा नाम देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले साहको उम्मेदवारी बदर गरेको थियो। यद्यपि, सर्वोच्च अदालतमा दायर अर्को निवेदनमा उनले आफ्नो उम्मेदवारी बदर गर्ने निर्णय खारेज गरी आफूले पाएको मत कायम गर्न माग गरेका छन्, जसको सुनुवाइ अझै बाँकी छ।
उल्लेखनीय रूपमा, उम्मेदवारी रद्द भइसकेपछि पनि धनुषा–१ मा घण्टी चिन्हमा करिब ३२ हजार मत परेको थियो। तर उम्मेदवारी खारेजका कारण नेकपा उम्मेदवार मातृका यादवलाई ७ हजार ५६६ मतसहित निर्वाचित घोषणा गरिएको छ, जुन निर्णय पनि सर्वोच्चको अन्तिम आदेशमा निर्भर रहनेछ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया