२०८२ साल चैत्र ११
हाइस्पीड संवाददाता
सिटी सफारीमा यात्रा गरेकी किशोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा सुनसरीको रामधुनीबाट एक जना चालक पक्राउ परेका छन् । चैत ६ गते साँझ १७ वर्षीया किशोरीलाई धरानको जंगलमा लगेर कुटपिट गरी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिटी सफारी चालक २६ वर्षीय रोशन विश्वकर्मालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार पीडित किशोरी धरानस्थित घर गएर मोरङ फर्किन लागेको अवस्थामा बलात्कृत भएकी हुन् । उनी त्याे दिन बेलुका भोटेपुल चोकमा गाडी पर्खेर बसेकी थिइन् । त्यहीबेला सफारी चालकले अरू गाडी त्यहाँ नरोकिने बताउँदै बस स्ट्यान्डसम्म पुर्याइदिने भनेर आफ्नो सफारीमा चढाएका थिए । तर, उनले साकेला पार्क नजिकै जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले दिएको किटानी जाहेरीमा आरोपितले साकेला पार्क नजिकको जंगलमा लगी कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । पक्राउ परेका विश्वकर्माविरुद्ध अपहरण र जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया