२०८२ साल चैत्र ११
हाइस्पीड संवाददाता
नयाँ संसद् भवन निर्माण अन्तिम चरणमा, अस्थायी हलमै शपथ र बैठक तयारी
सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण अन्तिम चरणमा पुगे पनि पूर्ण रूपमा तयार नभएकाले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकका लागि अस्थायी व्यवस्था गरिएको छ। चैत १० गते बिहान भवन परिसरमा रंगरोगन, टायल बिछ्याउनेलगायतका काम तीव्र रूपमा भइरहेको देखिएको छ भने समग्र निर्माण प्रगति करिब ९५ प्रतिशत पुगेको बताइएको छ।
प्रतिनिधिसभा हल तयार नभएकाले निर्माणाधीन भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गरिँदैछ। उक्त हलमा २८० सांसदका लागि कुर्सी, माइक, साउण्ड सिस्टम तथा भिडियो व्यवस्थापनको काम भइरहेको छ। यही हलमा चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम हुनेछ र प्रारम्भिक केही बैठक पनि यहीं बस्नेछन्।
संसद् सचिवालयका अनुसार शपथपछि सांसदहरूलाई संविधान, नियमावलीलगायत सामग्रीसहित झोला प्रदान गरिनेछ। साथै, १३ गते प्रधानमन्त्रीको शपथ र १६ गते संसद् अधिवेशन आह्वानको तयारी गरिएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख चयन नभएसम्म बैठकको अध्यक्षता गर्नेछन्।
अस्थायी हल साँघुरो भएकाले ‘वेल’ क्षेत्रको स्पेस कम भएको र व्यवस्थापनमा केही चुनौती देखिएको छ। यद्यपि, यो व्यवस्था केही समयका लागि मात्र भएको र चाँडै स्थायी प्रतिनिधिसभा हलमा सर्ने योजना रहेको बताइएको छ।
नयाँ संसद् भवन अत्याधुनिक सुविधासहित निर्माण भइरहेको छ, जसमा सांसदका लागि छुट्टाछुट्टै कक्ष, दलका कार्यालय, बैठक कक्ष, पार्किङ, पुस्तकालय, क्यान्टिनलगायत पूर्वाधार समावेश छन्। यद्यपि, पटक–पटक म्याद थप्दा पनि समयमै निर्माण सम्पन्न हुन नसकेको हो। अब भने थप म्याद नलाग्ने गरी काम अन्तिम चरणमा पुगेको अधिकारीहरूको दाबी छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया